दार्चुला । यहि वैशाख ३० गते शुक्रबारका दिन हुन गइरहेको स्थानिय तहको निर्वाचनको सुरक्षाका लागि जिल्ला भरी ३ सय ६० जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय सुरक्षा, मतदान स्थल, मतगणना स्थल र मतदान केन्द्रको सुरक्षाका लागी जिल्ला भरी सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति त्रिभुवन विष्टले जानकारी दिनुभयो ।
निर्वाचन अधिकृतको कार्यालय सुरक्षाका लागि यस अघि नै टोली परिचालन भएकोमा बाकी सशस्त्र प्रहरीको टोली आज देखी जिल्लाका सबै स्थानिय तहका लागि परिचालन भएको उहाले बताउनुभयो । निर्वाचन सुरक्षाका लागि प्रत्येक गाउँपालिकामा सशस्त्र प्रहरी निरिक्षकको नेतृत्वमा २३ जना तथा नगरपालिकामा २८ जनाको टोली परिचालन गरिएको उहाले जानकारी दिनुभयो ।
मतदानको दिन सशस्त्र प्रहरी बलको टोलीले दोस्रो घेरामा बसेर सुरक्षा दिने जनाइएको छ । राष्ट्रिय सुरक्षा निति अनुसार सशस्त्र प्रहरीलाई निर्वाचनमा दोस्रो घेरामा परिचालन गर्ने योजना बनाएको छ । यसैबिच निर्वाचनको सुरक्षाकै लागि दार्चुलाबाट बैतडी र डडेल्धुरा जिल्लामा समेत सशस्त्र प्रहरी परिचालन भएका छन् । बैतडीमा ५३ जना तथा डडेल्धुरामा ९ जना सशस्त्र प्रहरी निर्वाचनको सुरक्षाका लागि खटिएको गणपति विष्टले बताउनुभयो । एक निर्वाचन अधिकृतको कार्यालय सुरक्षामा बरिष्ठ हवलदारको कमाण्डमा ४ जनाको टोली परिचालन गरिएको उहाले बताउनुभयो ।
यस्तै जिल्ला सुरक्षा समितिले संवेदनशिल क्षेत्रको रुपमा पहिचान गरेका मतदान स्थलहरुमा सशस्त्र प्रहरीले निर्वाचन अविधिभर अस्थाई बेस क्याम्प स्थापना गरी सुरक्षा दिने बताइएको छ । सुरक्षा समितिले पहिचान गरेको संवेदनशिल स्थानहरुमा आवश्यक मात्रामा अन्य सुरक्षाकर्मीका साथै सशस्त्र प्रहरी पनि खटिएको जनाइएको छ ।
सुरक्षाका लागी मोबाइल स्ट्राइकिङ टोली समेत तयारी अवस्थामा रहेको गणपति विष्टले बताउनुभयो । जिल्ला सुरक्षा समितिले जिल्लाका ११ वटा मतदान स्थलहरुलाई अति संवेदनशिल, ११ वटा स्थलहरुलाई संवेदनशिलमा पहिचान गरेको छ, भने ८८ वटा स्थलहरु सामान्यमा राखेको छ । जिल्लामा १ सय १० वटा मतदान स्थल तथा १ सय ३९ वटा मतदान केन्द्र रहेका छन् ।
