दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ का शङ्करसिंह ऐतवाल ९४ वर्षका भए । विगतमा गाउँ पञ्चायतको सदस्यसमेत बनेका उनी तिङ्करको डोकाङ खम्पा काण्डका जिउँदा सहिद पनि हुन् । नेपाल प्रहरीको जागिर छोडेर आएका ऐतवाल खम्पाकाण्डमा एक्लै मैदानमा खटिएका थिए । विसं २०७४ को निर्वाचनसम्म निरन्तर मतदानमा सहभागी भएका उनी यो पटक भने मतदान गर्नबाट वञ्चित हुँदैछन् ।
पहिलो पटक आफूहरुले निर्वाचनमा मतदान गर्नबाट वञ्चित हुनुपरेकामा उनको गुनासो छ । मतदान गर्ने इच्छा हुँदाहुँदै पनि मतदान केन्द्र पायक पर्ने ठाउँमा नहुँदा निर्वाचनबाट वञ्चित हुनुपर्ने अवस्था आएको ऐतवालको भनाइ छ । भोट हाल्ने हाम्रो अधिकार हो तर बसाइँसराइका कारण हामी गाउँ जान नसक्ने भएकाले मतदान केन्द्र खलङ्गामा पनि राखिए सहज हुने थियो । व्यासी सौका समुदायका अधिकांश भर्खरै खलङ्गाबाट छाङ्गरु तिङ्कर बसाइँ सरेको छ । बसाइँ सरेर पुन फर्किन नसकेर खलङ्गामा रहेका व्यासी सौका समुदायका वृद्धवृद्धा र सुत्केरी महिला मतदान गर्नबाट वञ्चित हुने भएका हुन् । मतदानका लागि गाउँ नै पुग्नुपर्ने बाध्यताले उनीहरु मतदानबाट वञ्चित हुने भएका हुन् ।
स्थानीय तहको यो पटकको निर्वाचनका लागि व्यास गाउँपालिका–१को छाङ्गरु र तिङ्करका बासिन्दाका लागि मात्रै मतदान केन्द्र कायम भएकाले पछि सदरमुकाम खलङ्गामा बसेका वृद्धवृद्धा र सुत्केरी महिला मतदानबाट वञ्चित हुने अवस्था आएको स्थानीय अमिता तिङ्करीले बताइन् ।
हामी व्यासीका लागि सदरमुकाम खलङ्गामै एउटा मतदान केन्द्र राखिदिएको भए मतदान गर्न सक्थ्यौँ । अरुको सहारामा भए पनि गोप्य मतको सदुपयोग हुन्थ्यो । तर सरकारले यो पटक हाम्राबारेमा सोचेन । म जस्तै कैयौँ वृद्धवृद्धा उच्च हिमाली क्षेत्रमा गएर मतदान गर्न सक्दैनौँ । स्थानीय दानसिंह तिङ्करी सरकारले आफूहरुको बसाइँ सर्ने बेला छाङ्गरु तिङ्करमा मात्रै मतदान केन्द्र राख्दा आधा मतदाताले खलङ्गामा भोट हाल्नबाट वञ्चित हुने अवस्था आएको बताउछन् । सदरमुकाम खलङ्गाको घर पनि हेर्नैपर्ने उनले बताए ।
चार पाँच दिन लगाएर गाउँ पुगेर फर्किने अवस्था हुँदैन । “नेपालतिर बाटो भएको भए एक दिन मतदान गरेर दोस्रो दिन फर्किन हुन्थ्यो”, तिङ्करी सुनाउछन्, “भारतीय बाटो हुँदै गाउँ जानुपर्छ । बहत्तर घण्टा सीमानाका बन्द हुन्छ । बन्दका बेला आउजाउ गर्न पाइँदैन । यस्तो अवस्थामा दुवै गाउँका १०० बढी मतदाता मतदान गर्नबाट वञ्चित हुने अवस्था पुगेको छ । ”
व्यासको छाङ्गरु तिङ्कर जान भारतीय प्रशासनको अनुमति लिनुपर्छ । अहिले गाउँ जानका लागि २७५ महिला र ५२१ पुरुष गरी ७९६ जनाले अनुमति लिएको सीमा प्रशासन कार्यालयका प्रमुख मोहनसिंह धामीले बताए । छाङ्गरु तिङ्कर जान अनुमति लिनेमा यहाँका स्थानीय ४१६, जिल्ला बाहिरका कामको सिलसिलामा जाने ४३, सशस्त्र प्रहरी र नेपाल प्रहरीका ८० जना छन् । सरकारले छाङ्गरुका लागि कैलाशपति आधारभूत विद्यालयमा र तिङ्करका लागि मोती महिला सङ्घ आधारभूत विद्यालयमा मतदान केन्द्र तोकेको छ । निर्वाचनमा खटिने कर्मचारी र मतपेटिका तथा मतपत्र हेलिकप्टरमार्फत ढुवानी गर्ने तयारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
साभारः रातोपाटी
