दार्चुला । जिल्लाको व्याँस गाउँपालिका–१ मा रहेको छाङ्गरु र तिंकरको मतदान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरले निर्वाचन सामाग्री, सुरक्षाकर्मी र कर्मचारीहरुलाई पु¥याउने भएको छ । नेपाली भूमीबाट त्याहासम्म पुग्न बाटो नभएका कारण सेनाको हेलिकप्टरले निर्वाचन सामाग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरु पु¥याउने दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । भारतीय बाटो भएर निर्वाचन सामाग्री लैजान नमिल्ने भएका कारण निर्वाचन आयोगले नेपाली सेनासंग समन्वय गरेर हेलिकप्टरमार्फत ती मतदान केन्द्रहरुमा उक्त सामाग्री ढुवानी गरिन लागेको उहाले बताउनुभयो ।
सोमबार बिहान धनगढीबाट दार्चुला आउने नेपाली सेनाको (एमआइ) सेभेन्टिन हेलिकप्टरले छाङरु र तिंकर मतदान केन्द्रका लागि आवश्यक निर्वाचन सामाग्रीहरु मतपेटिका, मतपत्र, स्वस्तिक छाप, लाहाछाप, मतदाता परिचय पत्र, सुरक्षण शिल, छेकाबारा र कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई ओसार्ने प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो । वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि छाङ्गरु र तिंकर मतदान केन्द्रमा हेलिकप्टरले निर्वाचन सामाग्री ढुवानी गर्ने जनाइएको छ । व्याँस गाउँपालिकाको छाङ्गरुमा ३७५ र तिंकरमा २३१ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।
यसैबीच जिल्लाका अन्य मतदान केन्द्रहरुमा आइतवारबाट कर्मचारी र निर्वाचन सामाग्री जाने क्रम सुरु भएको कार्यायलले जनाएको छ । जिल्लाका नौ वटै स्थानीय तहमा रहेका १ सय १० वटा मतदान स्थल तथा १ सय ३९ वटा मतदान केन्द्रहरु मध्ये ७० वटा मतदान केन्द्रहरुमा कर्मचारी र निर्वाचन सामाग्री पठाइ सकिएको जिल्ला निर्वाचन अधिकारी प्रदीप सिंह धामीले जानकारी दिनुभयो । जिल्लामा ८८ हजार २ सय १५ मतदाता रहेका छन् ।
