दार्चुला । जिल्लामा बढ्दै गइरहेको सवारी दुर्घटना न्युनीकरण गर्न सचेतना कार्यक्रमको आयोजना गरिएको छ । स्वास्थ्य कार्यालय दार्चुलाको आयोजनामा जिल्लामा पहिलो पटक ट्राफिक प्रहरी, चालक र सहचालकहरुका लागि एक दिने सवारी दुर्घटना न्युनीकरण गर्न स्वास्थ्य सचेतना कार्यक्रमको आयोजना गरिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका वरिष्ठ जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिनुभयो । “जिल्लामा प्रत्येक वर्ष सवारी दुर्घटनाका कारण मानिसहरुले ज्यान गुमाइरहेका छन , यो पनि जनस्वास्थ्यको एउटा समस्या हो” उहाले भन्नुभयो । मानवीय क्षती न्युनीकरण गर्ने उद्देश्यले कार्यालयले सचेतना कार्यक्रमको सुरुवात गरेको उहाको भनाई छ । सवारी दुर्घटना कम गर्न बेलाबेलामा चालकहरुको स्वास्थ्य परिक्षण गरिनु पर्ने, सवारी साधनको यान्त्रीक जाँच गरिनु पर्नेमा वरिष्ठ जनस्वास्थ्य अधिकृत भट्टले जोड दिनुभयो ।
साथै उहाँले यातायात सेवा संचालन गरिरहेको समिति तथा कम्पनीहरुसंग छिट्टै समन्वय गरि सवारी चालकहरुका लागि निशुल्क स्वास्थ्य जाँच शिविर संचालन गरिने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो । यस्तै कार्यक्रममा सरकारी वकील कार्यालय दार्चुलाका जिल्ला सहायक न्यायाधिवक्ता लक्ष्मण खनालले सवारी ज्यान सम्बन्धि विद्यमान कानूनका बारेमा प्रस्तुती राख्नुभएको थियो । लापरवाहीपूर्वक सवारी चलाइ कसैको ज्यान गएमा ३ वर्ष देखि १० वर्ष कैद र ३० हजार रुपैयाँ देखि १ लाख रुपैयाँ जरीवाना हुने कानूनी प्रावधान रहेको भन्दै सावधानीपुर्वक सवारी हाक्न उहाँले चालकहरुलाई आग्रह गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हिक्मत बहादुर थापाले जिल्लाका ट्राफिक सम्बन्धि समस्याहरुका बारेमा प्रस्तुती गर्नुभएको थियो । जिल्लाका अधिकांश ग्रामीण सडकहरु कच्ची हुनु, सिट क्षमता भन्दा बढी यात्रु ओसार्नु, तीव गतिमा सवारी साधन हाक्नु, चालकहरुले मादक पदार्थ सेवन गरि सवारी चलाउनु लगायतका कारणले जिल्लामा सवारी दुर्घटना बढेको उहाँको भनाई छ । आव ०७७÷०७८ मा दार्चुलामा ५ वटा सवारी दुर्घटनामा ६ जनाको मृत्यु, ५ जना घाइते भएका छन् यस्तै चालु आवको हालसम्ममा ५ वटा सवारी दुर्घटनामा ६ जनाको मृत्यु, १ जना घाइते भएको प्रहरीको तथ्यांक छ ।
