दार्चुला । भारतीय राजदूतावासले दार्चुलाको मालिकार्जुन गाउँपालिका र दुहुँ गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराएको छ । दुहुँ गाउँपालिका वडा नम्वर ३ अन्तर्गत पर्ने जन बिकाश माध्यामिक बिद्यालय बारबाँजलाई बिद्यालय वस पनि दुतावासले उपलब्ध गराएको छ ।
आईतवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपालमा रहेको भारतीय राजदूतावासले विभिन्न सङ्घ–संस्थालाई ७५ वटा एम्बुलेन्स र विभिन्न विद्यालयलाई १७ वटा बस उपहार दिएको छ । नेपालका लागि भारतका राजदुत नविन श्रीवास्तवले एक समारोहका बिच मालिकाजुन गाउँपालिका र दुहुँ गाउँपालिकालाई एम्बुलेन्स र बिद्यालयलाई स्कुल बस हस्तान्तरण गरेका हुन् ।
यो भन्दा पहिले भारतीय राजदूतावसले जिल्लाको महाकाली नगरपालिका लेकम गाउँपालिका तथा व्यासँ गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिसकेको जनाएको छ । नेपालका विभिन्न जिल्लामा अवस्थित विशेषगरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरूलाई एम्बुलेन्स र बस उपलब्ध गराएको दूतावासले जनाएको छ ।
यो सहयोग भारत स्वतन्त्र भएको ७५ औँ वर्षगाँठको अवसरमा प्रदान गरिएको हो । भारतले सन् १९९४ यता नेपालका विभिन्न जिल्लामा रहेका संस्थाहरूलाई नौ सय ४० वटा एम्बुलेन्स र एक सय ८४ वटा विद्यालय बस उपहारस्वरूप प्रदान गरिसकेको छ ।
