दार्चुला । जिल्ला कारागारको सुरक्षामा खटिएको नेपाली सेना फिर्ता भएको छ । विश्वव्यापी कोरोना भाइरस संक्रमण जोखिमका बेला कारागार निगरानीमा खटिएको नेपाली सेनाको टोली संक्रमण जोखिम सकिएसँगै शुक्रबार फिर्ता भएको हो ।दुई वर्षअघि कारागारको सुरक्षा दिँदै आइरहेका नेपाल प्रहरीलाई कोरोना भाइरसका कारण अन्यत्र खटाइएपछि सुरक्षाको जिम्मा नेपाली सेनाले पाएको थियो । सेना फिर्ता भएसँगै शुक्रबार देखि कारागार निगरानीको जिम्मा पुनः नेपाल प्रहरीले लिएको छ ।
तत्कालीन समयमा कोरोना संक्रमण जोखिम बढेसँगै भारतसँगको सीमा नाकामा हुने भिड नियन्त्रण तथा क्वारेन्टिनको सुरक्षामा प्रहरी केन्द्रित भएकाले सरकारको निर्णयअनुरूप कारागार सुरक्षाका लागि सेनालाई जिम्मा दिइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । कारागार निगरानीको जिम्मा नेपाली सेनाले लिने निर्णय भएसँगै तत्कालीन समयमा दार्चुला कारागारको जिम्मा नेपाली सेनाको गुरुगोरख गुल्मबाट खटिएका नेपाली सेनाले कारागारको निगरानी गर्दै आएका थिए । केही महिनाअघिमात्रै दुर्गादल गुल्मको सरुवा भएसँगै जिल्लामा आएको गुरुगोरख गुल्मले कारागारको निगरानी गर्दै आएको थियो ।
जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम कारागारको बाहिरी सुरक्षा सेनाले गर्दै आए पनि आन्तरिक व्यवस्थापन र अत्यावश्यक काम भने प्रहरीले नै गर्दै आएको थियो । सेनाको निगरानीमा रहेका बेला पनि कारागारमा रहेका कैदीबन्दीलाई अदालत, अस्पताल लैजाने ल्याउने, भेटघाटको व्यवस्थापन गर्ने काम प्रहरीले नै गर्दै आएको हो । सेनाले कारागारमा ११ सुरक्षाकर्मी खटाएको थियो । हाल जिल्ला कारागार दार्चुलामा ५३ कैदी र १९ बन्दी गरी ७२ जना कैदीबन्दी रहेका छन् ।
