दार्चुला : करार कर्मचारी हटाउने असार १९ गतेको दुहुँ कार्यपालिकाको निर्णयको विरोध गर्दै नेपाली काँग्रेसले ध्यानाकर्षण भएको जनाएको छ । नेपाली काँग्रेस दुहुँ गाउँपालिका सभापति नरेन्द्र सिंह कुवरले बुधवार पालिका अध्यक्ष नरेन्द्र सिंह बडाललाई बुझाएको ज्ञापन पत्रमा आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको हो । ज्ञापन पत्रमा बर्तमान निर्वाचित स्थानीय सरकारले दलगत पूर्वाग्रह राखी जनविरोधी, प्रचलित ऐन कानून विपरितका निर्णय क्रमिक रुपमा गर्न उद्धत रहेको उल्लेख गरेको छ । पूर्ववर्ती स्थानीय सरकारले अघि सारेका युवा, महिला, दलित लक्षित कार्यक्रम खारेज गर्ने मात्रै नभएर गाउँपालिकाको आवश्यकता, औचित्य, र प्रचलित कानून तथा स्थानीय सरकारको कार्यविधि अनुसार करार सेवामा नियुक्त अतिआवश्यक सेवाका कर्मचारीहरुलाई राजनैतिक प्रतिशोध स्वरुप एकमुष्ट रुपमा अवकाश गर्ने संवेदनशील क्षेत्र स्वास्थ्यलाई अस्तव्यस्त बनाउने, र करार विज्ञापन गरी भर्ना छनौटको न्युनतम प्रक्रिया नपुर्याइ प्राविधिक पदको परीक्षा अप्राविधिक व्यक्तिबाट लिने तथा आवश्यकता नभएको पद सृजना गरी विज्ञापन गर्नेजस्ता स्वच्छेदारी निर्णयप्रति काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा जनाइएको छ । काँग्रेसले ध्यानाकर्षणसहित ७ बुद्धे ज्ञापन गाउँपालिका अध्यक्षलाई बुझाएको छ । जसमा करार कर्मचारीहरुको म्याद थप नगर्ने भनि गरिएको निर्णय खारेज गर्नुपर्ने, जेठ १९ गते गरिएको विज्ञापन सम्वन्धमा सार्वजनिक रुपमा गम्भीर प्रश्न उठेको तथा न्यायिक समितीमा उजुरीसमेत परेको हुँदा सो विज्ञापन रद्ध गर्नुपर्ने, विगत सरकारद्धारा संचालित उपाध्यक्ष स्वरोजगार, दलित आवास, आत्मनिर्भर नारी, युवा फर्क माटोतिर जस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइ र बिगतमा सम्पन्न कामको भुक्तानी दिनुपर्ने, वथिर्ङ सेन्टरमा कार्यरत स्वीपर, विद्यालयमा कार्यरत भान्सेहरु आतंकित गर्ने कार्य बन्द गर्नुपर्ने, सामुदायिक स्वास्थ्य एकाई, वथिर्ङ सेन्टर कार्यरत कर्मचारीहरुलाई काममा खटाई सेवा निरन्तर दिनुपर्ने, विपतमा परेका परिवारलाई गाउँपालिकाले गरेको निर्णय अनुसार राहत उपलब्ध गराउने र गाउँपालिकाको सार्वजनिक सेवाको लागि जग्गा दानपत्र गर्ने कर्मचारीको यथाशीघ्र रुपमा म्याद थप थप्नुपर्ने जस्ता मागसहित ज्ञापन बुझाइएको दुहुँ गाउँपालिका सभापति नरेन्द्र सिंह कुँवरले बताए । साथै काँग्रेसले यी मागहरु एक हप्ताभित्र पूरा गर्न आग्रह गर्दै वेवास्ता गरिए कडा संघर्षका कार्यक्रम अघि सार्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय