प्रेमराज जोशी दार्चुला भदौ २० । जिल्लाको दुहुँ गाउँपालिकामा सोमवार नेपाली सेनाको हेलीक्याप्टर मार्फत खाद्यन्न ढुवानी हुने भएको छ । भदौ १३ गते राति परेको अविरल वर्षाका कारण वाटो घाटो अवरुद्ध भएपछि नेपाली सेनाको हेलीक्याप्टर मार्फत ढुवानी गरिन लागेको गाउँपालिका अध्यक्ष पुलेन्द्र वहादुर कार्कीले जानकारी दिए ।
दुहुँ गाउँपालिकाले १ सय क्युन्टर चावल, ५ क्युन्टल दाल, २ सय लिटर तेल १ सय पिस टेन्ट र ३ हजार मिटिर खानेपानी पाईप खरिद गरिसकेको र सोही ढुवानीको लागी नेपाली सेनाको हेलीक्याप्टर प्रयोग गरिने भएको छ । सदरमुकाम खलंगावाट सुत्खोलाको थाम र हिकिलाको गौरीलमाण्डौ माध्यामिक विद्यालयमा खाद्यन्न राखीने गाउँपालिकाले जनाएको छ ।
त्यस्तै सामुदायीक ग्रामीण विकाश समाज नेपालले ५३ कट्टा मसिनो चावल, २ सय ६५ किलो दाल, १ सय ६ लिटर तेल, १ सय ६ पोका नुन, ५ सय ३ किलो पिठो र कलगेट, वुरुष, कपाडा धुने सावुन, नुहाउने सावुन गाउँपालिकालाई हस्तान्तरण गर्ने भएको छ । भोली नेपाली सेनाको हेलीक्याप्टरले ढुवानी गरीसकेपछि गाउँपालिकालाई हस्तान्तरण गर्ने सिआरडिएसका टिम लिडर अशोक राज ओझाले जानकारी दिए ।
त्यस्तै रेडक्रस दार्चुला जिल्ला शाखाले २० परिवारका लागी ४० पिस कम्वल, २० थान टेन्ट, १ सेट भाडाकुडा, २० पिस लेडीज धोती, प्रति परिवार १२ मिटर कपडा, २० पेटीकोट र २० वाल्टी सहयोग गर्ने जिल्ला शाखाका मन्त्री दिपक प्रसाद अवस्थीले जानकारी दिए । सोपनि सेनाको हेलीक्याप्टर मार्फत ढुवानी हुने जनार्ईएको छ ।
यता जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीका अनुसार भोली देखी ७२ घण्टा भित्र नेपाली सेनाको हेलीक्याप्टर सुर्खेत वाट आउने र वाढी प्रभावित क्षेत्रमा खाद्यन्न ४ लटमा ढुवानी गर्ने वताए । जिल्ला सदरमुकाम खलंगामा रहेको नेपाली सेनाको ब्यारेकवाट दुहुँका लागी खाद्यन्न ढुवानी हुने जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय