दार्चुला : शुक्रवारको अविरल वर्षापछि आएको बाढीले दार्चुलामा ठूलो जनधनको क्षति भएको छ । बाढीले लास्कु खोलाको मोटरेवल पुल र झोलुङ्गे पुल बगाउँदा दुहु र महाकाली को सम्पर्क टुटेको छ । जसका कारण आवतजावत ठप्प भएको छ । आवतजावतका लागि लास्कु खोलामा तल्कालका लागि अस्थायी काठेपुल निर्माण गर्ने भएको छ ।
आज विहान नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू, सुदूरपश्चिम प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री मानबहादुर धामीको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा बसेको विपद व्यवस्थापन खोज, उद्वार तथा राहतसंग सम्बन्धित कलष्टरहरुको बैठकले विभिन्न निर्णय अन्तरगत लास्कु खोलामा अस्थायी काठेपुल निर्माण गर्ने निर्णय गरेको हो । सोही अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत स्थानीयहरुले नदी किनारमा तारजाली लगाउदै अस्थायी पुल निर्माण गरिरहेका छन् ।
यस्तै बाङ्गाबगर क्षेत्रमा खोलाको कटानले क्षती हुन नदिन तारजाली भर्ने काम भइरहेको छ । लास्कु खोला क्षेत्रमा थप कटान हुन नदिन जिल्ला स्थित जलश्रोत तथा सिचाई डिभिजन कार्यालय र महाकाली नदी नियन्त्रण आयोजना कार्यालयको प्राविधिक सहयोगमा जिल्ला स्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबाट अस्थायी तटबन्ध निर्माणको कार्य प्रारम्भ गर्ने पनि निर्णय भएको छ । महााकाली नगरपालिका– १ को कलौन र छापरी तथा वडा नम्बर ४ बाङ्गाबगर क्षेत्र जोड्ने काठेपुल निर्माणको कार्य गर्न जिल्ला स्थित नेपाली सेनाको गुरु गोरख गुल्मबाट सुरक्षाकर्मी तत्काल परिचालन गरी निर्माण कार्य गर्ने निर्णय गरिएको छ ।
मनसुनजन्य अविरल वर्षाका कारण महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विपद पिडित परिवारलाई जिल्ला विपद व्यस्थापन समिति दार्चुलाको समन्वयमा केयर नेपालको आर्थिक सहयोगमा युनिसेफ र सामुदायिक ग्रामिण विकास समाज नेपाल, निड्स कन्चनपुर द्वारा दार्चुला बाढीबाट प्रभावित परिवारहरुलाई आपतकालीन राहत सामाग्री वितरण गर्ने निर्णय पनि गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो ।
