दार्चुला : शैक्षिक गुणस्तर परीक्षण केन्द्रले ७९ ओटा सूचकमा आधारित रही विज्ञहरुबाट स्थलगत अध्ययन गरिएका देशभरीका ४ हजार ८६७ विद्यालयमध्ये ५ ओटा विद्यालयले ९०% भन्दा बढी नतिजा ल्याएका छन् । केन्द्रले विद्यालयको नतिजा विश्लेषणको क्रममा विद्यालयले प्राप्त गरेको कार्यसम्पादन प्राप्ताङ्क (मेरिट) का आधारमा विद्यालयहरुको श्रेणीकरण गरिएको जनाएको छ । लगानी, प्रक्रिया र उपलब्धीका ३ ओटा क्षेत्रका विभिन्न सूचकमा श्रेणीकरण गरिएको हो ।
सोही अनुसार दार्चुलाको मालिकार्जुन नमुना माध्यमिक विद्यालय धाप देशकै सातौँ स्थानमा पर्न सफल भएको छ । धापले ८९.८१ अंक प्राप्त गर्दै मध्यम विद्यालयको श्रेणीभित्र पर्न सफल भएको हो । मालिकार्जुन नमुना मावि धाप देशकै सातौँ स्थानका साथै सुदूरपश्चिमको दोस्रो र जिल्लाकै पहिलो श्रेणीमा परेको विद्यालयका प्रधानाध्यापक सुन्द्र सिंह बुढाथोकीले जानकारी दिए । यस्तै दार्चुलाकै लटिनाथ नमुना मावि रिठाचौपाता दशौ स्थानमा रहेको छ ।
देशमै पहिलो विन्ध्यवासिनी मावि कास्की, दोस्रो भक्तपुरको एभरेष्ट इंगलिस स्कूल, तेस्रो कन्चनपुरको भानु मावि, चौथोँ स्थानमा भक्तपुरको दरबार स्क्वायरको पद्यम उच्च मावि, पाँचौ स्थानमा काभ्रेपलाञ्चोक मंगलटारको मंगल जनविजय मावि र छैटौ स्थानमा रुपन्देहीको कालिका मानव ज्ञान मावि पर्न सफल भएको छ ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कुल प्राप्ताङ्कका आधारमा ४०% भन्दा कम ल्याउनेलाई कमजोर, ४० देखि ७०% भन्दा कमलाई सामान्य, ७० देखि ९०% भन्दा कमलाई मध्यम र ९०% देखि माथिलाई उत्तम श्रेणीस्तर रुपमा विद्यालयको स्तर निर्धारण गरेको थियो ।
