दार्चुला । आत्महत्या, सचेतना कार्यक्रम आइतबार सम्पन भएको छ ।जिल्ला प्रहरी कार्यालय दार्चुलाले आत्महत्या रोकथाम सम्बन्धी देशब्यापी सचेतना कार्यक्रमको अवधारणा, २०७९ अनुसार दार्चुला सदरमुकाम खलंगामा जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको हो । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा स्थित खुल्ला मञ्चबाट पुलघाटसम्म र्यालीको आयोजना गरी नगरपालिकाको सभाहलमा जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाल प्रहरीसंगै नेपाली सेना, सशस्त्र प्रहरी बल, सरकारी, गैह्र सरकारी कार्यालयका कार्यालय प्रमुखहरूका साथै आमन्त्रित शिक्षक, विद्यार्थी, समाजसेवी, बुद्धिजिवी, महिला सञ्जाल, पत्रकार, मानव अधिकारकर्मी लगायत करिब चार सय जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
तपाईको जीवन अमुल्य छ आफुलाई माया गरौं, जीवनलाई आत्मसाथ गरौँ, आत्महत्या बन्द गरौं, जीवन सुन्दर छ, यसलाई मौका दिनुहोस भन्ने सचेतनामुलक प्ले कार्ड सहित र्याली निकाली खलंगा बजार परिक्रमा गरिएको थियो । जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६÷०७७ र ०७७÷०७८ मा २१÷२१ जनाले आत्महत्या गरेकोमा गतवर्ष २०७८÷०८९ मा २६ जनाले आत्महत्या गरेको पाइएको छ । चालु आर्थिक वर्षको दुई महिनामा थप दुई जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए ।
