दार्चुला । जिल्ला कारागार दार्चुलामा रहेका ११ जना कैदी लाई आममाफी मिलेको छ । संविधान दिवसका अवसरमा उनीहरुलाइ आममाफी मिलेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी दार्चुलाका ११ जना सहित देशभरीका ६८१ कैदीलाई आममाफी दिनुभएको हो । ११ जनामध्ये चार जना नकबजनी चोरी, दुई जना सवारी ज्यान र पाँच जना कर्तव्य ज्यान मुद्धामा आधाभन्दा बढी कैद भुक्तान गरी राम्रो चालचलन भएकाहरु रिहा भएका हुन् । रिहा गर्ने पत्र प्राप्त हुनासाथ आजै उनिहरुलाई कारागारबाट रिहा गरिने दार्चुला कारागारका जेलर रामराज पन्तले जानकारी दिए ।

दार्चुला कारागारमा ५८ कैदी र १२ थुनुवा गरी ७० जना कैदीबन्दी रहेका थिए । ११ जना रिहा भएसंगै अब ५९ जना कैदीबन्दी बाँकी रहेको जेलर पन्तले बताए। जसमा दुई जना महिला कैदी रहेका छन् । राष्ट्रपति भण्डारीले अदालतका आदेश समेतका आधारमा तोकिएको आधाभन्दा बढी कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका कैदीहरुलाई सम्बन्धित कारागारको सिफारिस र मन्त्रीपरिषदको निर्णय अनुसार असोज ३ गते आजदेखि लागु हुनेगरी रिहा गर्नुभएको हो ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आइतबार विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा २७६ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा ३७ बमोजिम ६ सय ८१ कैदीलाई माफी दिएको जानकारी दिए । हरेक बर्ष संबिधान दिवस र गणतन्त्र दिवसको अवसरमा असल चालचालन भएका र मापदण्डमा परेकाका कैदीहरुको कैद माफी गरिदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय