दार्चुला । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनामा हाल सम्मआंशिक रोजगारी पाउनेको संख्या १३५ पुगेको छ । परियोजनाबाट हाल सम्म १४ हजार भन्दा बढि जनसख्या लाभाविन्त भएका कार्यालयको तथ्यांक छ । कार्यालय स्थापनाकाल देखि हाल सम्म उक्त संख्यामा जनसंख्या लाभाविन्त भएको कार्यालय प्रमुख विष्णु प्रसाद ओझाले जानकारी दिए । कार्यालयका अनुसार समूह÷ सहकारी÷ निजी उद्यमी÷ कम्पनीहरुमा आबद्ध महिला पुरुष जनजाति दलित युवाहरुको संख्या जोड्दा सम्म १४ हजार २९१ जना रहेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना स्याउजोन कार्यालय दार्चुलाले जनाएको छ ।
कार्यालयका अनुसार महिला हाल सम्म ४हजार ८१६ जना पुरुष ३ हजार ४७० जना दलित ६१३ जनजाती १७७ अन्य ४हजार २१० युवा १हजार ५ जना गरी हाल सम्म १४ हजार २९१ जना लाभाविन्त भएको कार्यालय प्रमुख विष्णु प्रसाद ओझाले जानकारी दिए । लाभान्वित जनसंख्यामा दार्चुला र बैतडी जिल्लाको जनसंख्या समावेश गरिएको उनले बताए । आर्थिक वर्ष २०७३÷७४ देखि आर्थिक वर्ष २०७७÷७८ सम्म आंशिक रोजगारी पाउनेको संख्या १३५ जना रहेको छ । यसमा स्थाई रोजगारी पाउनेको संख्या २० जना रहेका छन । आशिंक रोजगारी साना सिचाई मर्मत सम्भारको कामबाट र स्थायी रोजगारी नर्सरी फलफुल बगैचा निर्माणबाट रोजगारी पाएको स्याउजोन कार्यालय दार्चुलाका सुचना अधिकारी दिपक सिह धामीले जानकारी दिए ।
सिचाई नपुगेका ठाउँमा कार्यक्रमबाट साना सिचाईको उपलब्धताबाट किसानलाई खेती गर्न राहत पुगेको कार्यालयले अपेक्षा लिएको छ । गोठ सुधारबाट किसानहरुलाई प्राङ्गारिक मल बनाउन राहत पुगेको र मलको आपुर्ति भएको र विभिन्न खालका औजारहरुको उपलब्धताबाट किसानहरुलाई कार्य गर्न राहत पुगेको कार्यालयले जनाएको छ ।
केही गर्ने खालका किसानहरुलाई परियोजनाबाट सानो सहयोग भएपनि बालीवस्तु बिशेष तालिम प्रदान गरेकोमा किसानहरु आफै स्याउमा कलमी, काटछाट गर्न सक्ने क्षमता बृद्धि भएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना स्याउजोन कार्यालय दार्चुलाले जनाएको छ ।यसले गर्दा जिल्लामा किसानले उत्पादन गरेका स्याउ र ओखरहरु देशको विभिन्न ठाउँ लगायत भारतको विभिन्न ठाउँमा समेत सप्लाई भएको कार्यालयले जनाएको छ । कृषकहरुले आफुले उत्पादन गरेका कृषिउपजहरु बजारीकरणमा समस्या हुने र बजार सम्म पुर्याउन कृषि संग काम गर्ने विभिन्न निकाय र स्थानीय तहलाई सहयोग गर्न अनुरोध गरेका छन ।
