दार्चुला । नेपाल–भारत सीमा नदी महाकाली किनारमा भारतले निर्माण गरिरहेको पक्की तटबन्ध दुवै क्षेत्र तर्फ कुनै हानी नोक्सानी नहुने गरि निर्माण गर्ने नेपाली र भारतीय अधिकारीहरु बीच सहमति भएको छ । नेपाली र भारतीय अधिकारीहरुको नेपालमा बसेको दुई पक्षिय बैठकमा सीमा नदी किनारमा कुनै पनि संरचना निर्माण गर्दा एक अर्काको सहमति लिई निर्माण गर्ने र कुनै खालको समस्या उत्पन्न नहुने गरी निर्माण गर्ने सहमती भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

भदौ २४ गते लास्कु खोलामा आएको बाढीले महाकाली नदीको धार पुरै नेपालतर्फ फर्काएको छ । खोलामा बाढी आउदा ढुंगा, बालुवा, माटो काठपात भारततर्फ जम्मा भएपछि महाकाली नगरपालिका–४ स्थित रिङनताल क्षेत्रमा नदीको धार पुरै नेपाल तर्फ फर्किएको छ । बाढीले नदीको धार नेपाल तर्फ फर्काए संगै भारतले नदी किनारमा पक्की तटबन्ध निर्माण गरिरहेको छ । भारतले नेपालसंग कुनै समन्वय नगरी सीमा नदीमा संरचना निर्माण गरिरहेको तथा नदीको धार नेपाल तर्फ परिवर्तन गर्ने गरी निर्माणको काम गरी रहेको भन्दै बंगाबगरका स्थानीयले विरोध जनाउदै दुहुँ गाउँपालिका र व्याँस गाउँपालिका जाने बाटो बन्द गरेका थिए । बैठकमा बाढीले महाकाली नदी बीचमा थुपारेको सबै कच्चा पदार्थलाई हटाएर नदीको धार पुरानै अवस्थामा अर्थात बिच भागबाट बग्ने बनाउने सहमती भएको बताइएको छ ।

थुपारिएको कच्चा पदार्थ निकालेर नदीलाई बिच भागबाट बगाइ तटबन्ध निर्माणको काम गर्न भारतीय अधिकारी संग नेपाली अधिकारीले छलफल र समन्वय गरेका थिए । पुलघाट स्थित भारतले निर्माण गरिरहेको अस्थायी तारजाली सहितको तटबन्ध दुई महिना पछि हटाउने पनि बैठकमा सहमती भएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिनुभयो । तटबन्ध निर्माणको काममा प्रयोग हुने मेसिन र गाडीहरु लैजान तारजाली हालेर उक्त क्षेत्रमा बाटो बनाएको भारतीय पक्षले जानकारी गराएको बताइएको छ । बैठकमा नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो, भने भारतका तर्फबाट तहसिल धारचुलाका एसडिएम दिवेश साशनी, ईन्जिनियर तथा निर्माण कम्पनीका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय