दार्चुला । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको निर्वाचनलाई लक्षित गरी दार्चुलामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा ओसारपसारदेखि सेवनमा समेत पूर्णरुपमा निषेध गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।
आइतबार जिल्ला प्रशासन कार्यालय दार्चुलाका साहयक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदद्वारा हस्ताक्षरित सूचनामा मदिरा ओसारपसार, बिक्री बितरण र सेवन निषेध गरिएको छ । “दार्चुला जिल्लाको सम्पूर्ण सुरक्षालाई दृष्टिगत गर्दै २०७९ कात्तिक २० गते राति १२ बजेदेखि पहिलो हुने निर्वाचित प्रणाली बमोजिम अन्तिम परिणाम घोषणा नभएसम्म मदिराको ओसारपसार, बिक्री बितरण र सेवनमा पूर्णरुपमा निषेध गरिएको हो।

कोही कसैले सूचनाको बर्खिलाप गरी मदिरा ओसारपसार, बिक्री बितरण र सेवन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने छ”, सूचनामा भनिएको छ । आसन्न निर्वाचनलाई भएरहित वातावरणमा सम्पन्न गर्न मतदाता, राजनीतिक दल जिल्लाबासी, सरोकारवाला निकायले आ–आफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्ने प्रजिअ उपाध्यायले जिल्लाबासीहरुमा आग्रह गरेका छन । 
