दार्चुला : प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस महासमिति सदस्य तथा गठबन्धनका साझा उम्मेदवार बिक्रम सिंह धामी विजयी हुनु भएको छ । प्रदेशसभा क्षेत्र नम्बर १ अन्तरगत पर्ने ब्याँस, दुहुँ गाउँपालिका, महाकाली नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकाबाट कुल खसेको ३१ हजार ५४२ मत मध्ये १५ हजार १२७ मत प्राप्त गर्दै धामी विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले घोषणा गर्नु भएको हो । उहाका निकटतम प्रतिद्धोन्दी नेकपा एमालेका हरदेव जोशीले कुल खसेको मत मध्ये १३ हजार ४५१ मत प्राप्त गर्नु भएको छ । यस्तै स्वतन्त्र उम्मेदवार शंकर सिंह धामीले १ हजार ४१८ मत प्राप्त गर्नु भएको छ, भने राष्ट्रिय प्रजातन्त्र पार्टीका चक्रबहादुर बमले ३२७, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नन्दी कामीले ८५ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैबिच प्रदेशसभा क्षेत्र नम्बर २ को मंगलबार राती १२ बजे सकिएको मतगणना अनुसार माओवादी केन्द्रका नेता तथा गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामी बिजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई १ हजार ३१५ मतान्तरले पराजित गर्दै उहाँ बिजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग मन्त्री समेत रहनु भएका धामीले कूल २६ हजार २७२ मतमध्ये १३ हजार १७१ मत प्राप्त गर्दै बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका जोशीले ११ हजार ८५६ मत प्राप्त गर्नु भएको थियो । धामी २०७४ सालमा पनि यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित हुनु भएको थियो ।
यस्तै प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाको मतगणना जारी रहेको जनाइएको छ । जिल्लाको अपिहिमाल, ब्याँस गाउँपालिका र शैल्यशिखर नगरपालिकाको मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसका उम्मेदवार दिलेन्द्र प्रसाद बडूले ९ हजार ७८८ मत प्राप्त गर्नु भएको छ, भने उहाका निकटतम प्रतिद्धोन्दी नेकपा एमालेका गणेश सिंह ठगुन्नाले ९ हजार ९९५ मत प्राप्त गर्दै अग्र स्थानमा रहनु भएको छ ।
जिल्लाको कुलमत ८९ हजार १५४ मध्ये ५८ हजार ५८ मत अर्थात ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । प्रतिनिसिभा अन्तरगत अहिले दुहुँ गाउँपालिका र मालिकार्जुन गाउँपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
