दार्चुला : “समावेशी विकासका लागि रुपान्तरित समाधान, पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सिर्जनशिलताको प्रावधान” भन्ने मुल नाराका साथ दार्चुलामा पनि अपाङ्गता भएका व्यक्तीहरुको ३१ औ अन्तराष्ट्रिय दिवस मनाइएको छ । अपाङ्ग संघ दार्चुलाको आयोजना तथा महाकाली नगरपालिकको सहयोगमा दिवस मनाइएको हो । दिवसको अवसरमा महाकाली नगरपालिकाको हलमा आयोजित कार्यक्रममा सहभागि अपाङ्गता भएका व्यक्तीहरुले अपांगहरुको सेवा सुविधामा समेत राजनितिको गन्ध प्रवेश गरेको बताएका छन् । अपाङ्ग संघ दार्चुलाका कोषाध्यक्ष जमन सिंह धामीले नेताहरुलाई भोट दिनेलाई मात्रै सेवा सुविधा दिने भन्ने भेदभाव हुन थालेको बताउनुभयो । नेताहरुलाई सेवा सूविधाका बारेमा कुरा गर्दा भोट कसलाई दिएको हो भनेर प्रश्न गर्ने गरेको उहाको आरोप छ ।
कार्यक्रममा महाकाली नगरपालिकाका नगर प्रमुख नरसिंह चैसिरले हरेक अपांग व्यक्तीले आत्मविश्वास राख्नुपर्ने बताउनु भएको छ । सरकारले अपांगता भएका व्यक्तीहरुलाई प्रदान गर्ने सेवा सूविधा लिनबाट कोहि छुटेको भए उनिहरुलाई सेवा सूविधा अपलब्ध गराउन आवश्यक कागजपत्र तयार गरि प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो । कुनै किसिमको काम गर्न नसक्ने अपांगता भएका व्यक्तीहरुको उपचार र अतिआवश्यक कामका लागि नगरपालिकाले अपांगामैत्री कोष खडा गरिने बताउनुभयो । नगरपालिकाका कुनै पनि स्थानमा रोजगारीका अवसरहरु सिर्जना गर्दा अपांगता भएका व्यक्तीहरुलाई प्राथमिकता दिइने उहाको भनाई छ ।
साथै नगर प्रमुख चैसिरले अपांगता भएका व्यक्तीहरुका मागका आधारमा सिप मुलक तालिम प्रदान गर्न पहल गर्ने पनि प्रतिबद्धता जनाउनु भएको छ । यस्तै कार्यक्रममा अपांग संघ दार्चुलाका अध्यक्ष गणेश गिरीले जिल्लाका कुनै पनि स्थानमा अपांग मैत्री भवन नभएको प्रति दुख व्यक्त गर्नुभयो । साथै उहाले अपांगता भएका व्यक्तीहरुलाई परिचय पत्र वितरण गर्दा समन्वय र सहकार्य गर्न पर्ने बताउनुभयो । अध्यक्ष गिरीले जिल्लामा एउटा समावेशी विद्यालयको माग गर्नु भएको छ । अपांगता भएका व्यक्तीले अध्ययन गर्न पाउने गरी समावेशी विद्यालयको स्थापना जरुरी रहेको उहाको भनाई थियो । विगत देखी नै समावेशी विद्यालयको माग गरेको भए पनि हाल सम्म सम्बोधन नभएको उहाले बताउनुभयो । साथै उहाले स्थानिय तहमा मात्रै नभएर विभिन्न समितिहरुमा अपांगता भएका व्यक्तीहरुको प्रतिनिधित्व नभएको प्रति दुख व्यक्त गर्नु भएको छ । समितिहरुमा अपांगता भएका व्यक्तीहरुको सहभागिता हुन सकेमा जनचेतना हुने र अपांग व्यक्तीले पनि सपांग व्यक्ती जस्तै सबै काम गर्न सक्ने सन्देश जाने बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधि लगायत पत्रकारहरुको सहभागिता रहेको थियो । जिल्ला भरी ३ हजार भन्दा अपांगता भएका व्यक्तीहरु रहेको अपांग संघ दार्चुलाले जनाएको छ ।
