दार्चुला । अपिहिमाल गाउँपालिका र नेपाल टुरिज्म बोर्डको (जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना) साझेदारीमा अपिहिमाल गाउँपालिका वडा नं ५ को मकरीगाड बजारको फोहोरलाई व्यवस्थापन गर्नको लागि फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण भइरहेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा भिजिट (एक फेरा घुमौ हा) अपिहिमाल नीतिलाई समेट्ने गरी यो कार्यक्रममा संचालन गरिएको हो ।

योजना अधिकृत नरहरि ठेकरेका अनुसार अपिहिमाल घुम्न आउने तथा पर्वतारोहण गर्ने स्वदेशी तथा विदेशी पाहुनाहरुको प्रबेशद्धार मकरीगाड हो । मकरीगाड बजारको फोहोरलाई व्यवस्थित गरी सफा राख्नु अति जरुरी भइ सकेको थियो । सोही कुरालाई मध्यनजर गर्दै गाउँपालिकाको प्रबेशद्धारलाई सफा र स्वच्छ राख्न फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिन लागेको हो ।

गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले पालिकाले चालु आव देखि ५ वर्षमा अपिहिमालमा १० हजार पर्यटक भि¥याउने निति लिएको र यसै नीति अन्तर्गत सबैभन्दा पहिला स्थानीय महिला तथा होटल व्यवसायीको क्षमता बृद्धि गरी आगन्तुकलाई उत्कृष्ट सेवा प्रदान गरेर पैसा कमाउन सक्ने बनाउने रहेको बताउनुभयो ।

यसका साथै स्थानीय युवा युवतीलाई ट्रेकिङ गाइड तालिम दिएर स्वरोजगार बनाउनुको साथै अपिहिमाल भिजिट गर्न आउने पर्यटकहरुलाई उत्कृष्ट सेवा दिने सीप सिकाउने रहेको बताइएको छ । तालिम संगै अपिहिमालको प्रबेशद्धारमा फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण गरी सफा र सुन्दर अपिहिमाल बनाउने अभियानको थालनी गरिएको पनि बताउनुभयो । ‘हामी कुहिने र नकुहिने फोहोरको अलग–अलग तरीकाले व्यवस्थापन गर्ने योजनाका साथ अघि बढेका छौ अध्यक्ष बोहराले भन्नुभयो ।’

यो एउटा डेमोको रुपमा हुनेछ र यो कार्यलाई हामी विभिन्न दातृ निकायहरुको साझेदारीमा अभियानको रुपमा अगाडी बढाउने छौ । उहाँले यो अभियानले हामीलाई अर्गानिक अपिहिमाल बनाउने नीतिलाई समेत सहयोग हुने कुरा थप्नुभयो । मकरीगाड फोहोरमैला केन्द्र निर्माण कार्य सम्पन्न पश्चात कुहिने र नकुहिने फोहोर अलग–अलग रुपमा संकलन गरी व्यवस्थापन गरिनेछ ।

कुहिने फोहोरबाट कम्पोष्ट मल उत्पादन हुने तथा उक्त मल नजिकको कृषकहरुलाई प्रयोग  दिइने व्यवस्था गरिने बताइएको छ । फोहोरमैला व्यवस्थापन केन्द्र गाउँपालिकाको ५ लाख, नेपाल टुरिज्म बोर्डको (जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना) को ५ लाख र स्थानीयको २ लाख श्रमदान गरी  कुल १२ लाख लगानीमा निर्माण भइरहेको छ ।

बिज्ञापन


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय