दार्चुला। गत असार अन्तिम साता नौगाड गाउँपालिका–१ का शिक्षक हरकसिंह ठगुन्ना मध्यरातबाट एकाएक गायब भए।
प्रहरी र स्थानीयले सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि उनलाई भेट्टाउन सकेन्।
स्थानीय भूमिराज माध्यमिक विद्यालयमा कार्यरत थिए, उनी।
छिमेकी गाउँ सल्लास्थित एक घरमा विवाह भोजमा गएका बेला हराएका थिए।
ठगुन्ना विहे भोजबाट फर्किदा गाउँकै एक जना महिलाको घरमा पसेको र त्यहाँबाट स्थानीयले लखेटेको समाचार बाहिरिएको थियो।
ती महिलासँग शिक्षक ठगुन्नाको ‘सुमधुर’ सम्बन्ध रहेको खुलेको थियो।
प्रहरीले महिलासँग पनि सोधपुछ ग-यो। तर कुनै ‘क्लु’ भेट्टाउन सकेन्।
शिक्षक ठगुन्ना हराएको पनि ५ महिना बितिसक्यो। उनी कहाँ गए होलान? स्थानीयलाई पनि यस्तो जिज्ञासा हुनु स्वभाविक हो।
‘हामीले त्यो बेला निक्कै मिहिनेत गरी सम्भावित सबै ठाउँमा प्रहरी परिचालित गरी खोजबिन ग-यौँ,’ जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले भने, ‘उहाँ भेटिनु भएन्, अहिले भारतमा रहेको खुलेको छ।’
शिक्षक ठगुन्ना बेपत्ता भएपछि परिवारका सदस्यहरुले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए।
प्रहरीले घटनाको गम्भीरतालाई दृष्टिगत गरी त्यस क्षेत्रतर्फ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो।
खोलाको बगरमा उनको कोट भेटिएको हल्ला चल्यो। कतिपयले स्थानीयको लखेट्याइमा परेका शिक्षक ठगुन्ना जिउदो नभएको अनुमान पनि लगाए। अहिले प्रहरीले उनी भारतमा लुकेर बसिरहेको सूचना पाएको हो।
‘भाग्न सक्ने भएकाले ठाउँको नाम खोल्ने कुरा भएन्,’ प्रहरी निरीक्षक शाहीले भने, ‘तर, उहाँ भारतमा भएको यथेष्ट प्रमाण हामीले जुटाइसकेका छौँ, केहि दिनमै समात्छौँ।’
प्रहरी निरीक्षक शाही त्यतिबेला आफैँ घटना अनुसन्धानमा खटिएका थिए।
शिक्षक ठगुन्नासँग सम्पर्कमा रहेका भनिएका संकास्पद मानिसहरुको बयान पनि लिइएको थियो।
एक जना महिला र उनको छोरालाई नियन्त्रणमा लिएको प्रहरीले उनीहरुलाई पनि छाडिदिएको थियो।
स्थानीयले ती महिलासँग शिक्षक ठगुन्नाको राम्रो सम्बन्ध भएको र उनको घरमा आउजाउ भइरहने बताएका थिए। ‘शिक्षक ठगुन्ना ती महिलासँगको सम्पर्कमा हुनुहुन्थ्यो, स्थानीयले थाहाँ पाएपछि डरले भारततर्फ भागेका हुनसक्छन,’ एक स्थानीयले भने।
ती महिलाले पनि शिक्षक ठगुन्नालाई बिहेको राति केही स्थानीयले लखेटेको बताएकी थिइन्।
उनीहरुका बीचमा सम्बन्ध रहेको र त्यो थाहाँ पाएर केही दिनदेखि स्थानीयले दुबै जनालाई निगरानी गरिरहेका थिए।
महिलालाई दवावमा राखेर स्थानीयले शिक्षकलाई लखेटेको आशंका गरिएको थियो।
प्रहरीले त्यतिबेला तीन वटा कोणबाट घटना अनुसन्धान गरेको थियो। पहिलो–शिक्षकले नदीमा हाम फालेर आत्महत्या गरे। दोस्रो–हत्यापछि शव गायब पारियो। तेस्रो–स्थानीयको डरले उनी लुकिछिपि बसिरहेका छन्।
नभन्दै प्रहरीले ठगुन्ना भारतमा लुकिरहेको खबर पाएको छ। शिक्षक ठगुन्ना सम्पर्कमा आएपछि यो घटनाका अरु पाटाहरु खुल्दै जाने प्रहरीको भनाई छ। सिमारेखा
