दार्चुला । ससुराली आएका एक जना पुरुष झुण्डिएको अवस्थामा भेटिएका छन । जिल्लाको महाकाली नगरपालिका वडा नं ७ लिखाडी भन्ने ठाउँमा ससुराली आएका एक पुरुष झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बैतडी जिल्ला पुर्चौडि नगरपालिका वडा १० बस्ने वर्ष २४ का रमेश राम लोहार झुण्डिएको अवस्थामा फेला परेका छन ।
उनी हिजो सोमबार मात्रै ससुराली दार्चुलाको महाकाली नगरपालिका वडा न ७ लिखाडी क्षेत्रमा आएको र आज विहान करिब ८–९ बजेतिर झुण्डिएको अवस्थामा फेला परेको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द प्रसाद भण्डारीले जानकारी दिए । लोहार झुण्डिएको देखिए पनि पोस्टमार्टमको रिपोर्ट नआएसम्म आत्महत्या हो वा अरुले नै झुण्ड्याएको हो भन्न नसकिने प्रहरीले जनाएको छ ।

मृतक लोहारका आफन्तहरुलाई समेत जिल्ला बोलाएको प्रहरीले जनाएको छ ।अहिले घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक गोबिन्द भण्डारीको टोली घटनास्थलमा प्रस्थान गरेको तथा घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पछिल्लो समय जिल्लामा आत्महत्याका घटनामा बृद्धि भएको पाइएको छ । हाल सम्म जिल्लामा ७ जनाले झुण्डिएर आत्महत्या गरेको प्रहरी कार्यालयको तथ्याङ रहेको छ ।
