दार्चुला : आफ्नो जीवनको ३० वर्षे राजनीतिमा पुगेका राप्रपा नेपाल दार्चुलाका अध्यक्ष बीर सिंह बडाल, कृषि र पशुपालन पेशा अङ्गाल्दै व्यवसायिक बन्न थालेका छन् । दार्चुलाको दुहुँ गाउँपालिका–२ सुङरखालका बडालले अहिले श्री सम्पाल गोरिल बाख्रा पालन तथा तरकारी खेती व्यवसाय फर्म दर्ता गरेर व्यवसाय जीवन व्यतित गर्न थालेका हुन् । कृषि र पशुपालन व्यवसाय गरिरहेका उनी आजकल तरकारी खेती र बाख्रा पालनमा व्यस्त देखिन्छन् । उनले अहिले ४० बाख्रा पालन गर्नुका साथै तरकारीमा आलु, गोबी, फर्सी लगायत फलाइरहेका छन् ।
कृषि र पशुपालनबाट घरखर्च र बच्चाको पढाइ खर्च व्यहोरी रहेको बडाल बताउँछन् । ‘राजनीति गर्नलाई पैसा चाहिन्छ, कुनै न कुनै काम त गर्नैपर्छ । त्यसैले मैले व्यवसायिक बन्न पशुपालन र कृषि पेशा अङ्गाले, उनले भने–‘यो पेशामा मिहिनेतसँगै आम्दानी पनि छ र प्रत्यक्ष सरोकार जनतासँग पनि छ । यसले राजनीतिक जीवनलाई पनि कुनै असर हुँदैन ।’
यस्तो छ राजनीतिक पृष्ठभूमि
२०४९ सालमा विद्यार्थी राजनीतिबाट हुर्केका बडाल सुरुमा राप्रपा विद्यार्थी संगठनका सभापति हुदै २०५० सालमा सक्रिय सदस्यका रुपमा राजनीतिमा होमिए । २०५०–०५४ सालसम्म गाउँ इकाई समिति सचिव भए । त्यसपछि ५ वर्ष गाउँमै शिक्षण पेशा गर्न थाले । शिक्षण पेशा छोड्दै ०५८ तिर सहर पसेका उनी २०५२–०६२ सम्म पार्टीको कार्यालय सचिव रहे । फेरी २०६२–६५ सम्म सचिव भए ।
२०७२ साल साउन ४ गते धर्म निरपेक्ष राज्यको विरोधमा उत्रेका कारण उनीसहित १३ जनालाई प्रहरी प्रशासनले पक्राउ ग¥यो । ०६७ असार २७ गते राप्रपा जिल्ला अध्यक्ष भएका बडाल २०७८ फागुन २९ गते कमल थापा नेतृत्वमा रहेको राप्रपा नेपालका जिल्ला अध्यक्ष भएर राजनीतिमा सक्रिय रहेका छन् । हिन्दुराज्यका लागि अहिले पनि संघर्ष गरिरहेको बडालको भनाइ छ ।
