दार्चुला : जिल्लाको महाकाली नगरपालिका र लेकम गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले २८ जना उपसचिवहरुको पदस्थापन गर्दै जिल्लाको महाकाली नगरपालिकामा धर्मराज न्यौपाने र लेकम गाउँपालिकामा अर्जुन सुवेदीलाई खटाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरहको पदमा बढुवा नियुक्ति भएका कर्मचारीहरूलाई पदस्थापन तथा कामकाजमा खटाएको हो । यसरी खटाइएका मध्ये २५ जना विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र बाँकी तीन जना अख्तियार र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएका छन् ।
२५ जनामध्ये ८ जनालाई सुदूरपश्चिमका विभिन्न ८ ओटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको छ । बैतडीको पाटनमा ओमप्रसाद पाण्डे, डडेल्धुराको परशुराम नगरपालिकामा पदमराज अर्याल, बाजुराको बुढीगंगामा पदमलाल लामिछाने, कैलालीको लम्कीचुहा नगरपालिकामा जगदीश अर्याल, डोटीको शिखर नगरपालिकामा पुरुषोत्तम घिमिरेलाई खटाएको छ, भने अछामको साँफेबगरमा डुबिन्द्रप्रसाद बराल, कैलालीको गोदावरी नगरपालिकामा आश्विनकुमार पोखरेललाई पठाइएको छ ।
बिज्ञापन

