दार्चुला । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दार्चुलाका पाचँ वटा क्याम्पस मध्ये आइतबार ३ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सम्पन्न भएको छ । एक वटा क्याम्पसमा भने निर्वाचन स्थगित गरिएको छ  भने एक क्याम्पसमा सर्बसहमती भएको छ । शंकरपुर क्याम्पस पस्ती,राष्ट्रिय क्याम्पस दत्तु, कृष्ण स्नातक क्याम्पस लाली र लटिनाथ क्याम्पस रस्कोट मार्मामा आइतबार (स्ववियु) निर्वाचन सम्पन्न भएको सम्बन्धित विद्यालयका निर्वाचन समितिहरुले जनाएको छ ।

यस्तै जिल्लाको व्यासँ गाउँपालिका वडा नम्बर ५ हुतीमा रहेको अपी नाम्पा क्याम्पसमा (स्ववियु) निर्वाचन स्थगित गरिएको छ । क्याम्पसको प्राविधिक काम नसकिएको भन्दै अर्को सूचना जारी नभएसम्मको लागि निर्वाचन स्थगित भएको सूचना जारी गरिएको छ ।
निर्वाचन सम्पन्न भएका ३ क्याम्पस मध्ये २ क्याम्पसको सभापतिमा अनेरास्ववियुका र अखिल (क्रान्तिकारी) का उम्मेदवार विजयी भएका छन् । एक वटा क्याम्पसमा नेविसंघको प्यानल सहित सभापतिमा विजयी भएका छन् । जिल्लाको कृष्ण स्नातक क्याम्पस लालीमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका संयुक्त उम्मेदवार हेमन्ती जोशी स्ववियु सभापतिमा विजयी भएकी छन् । उनी नेपाल विद्यार्थी संघका विनोद टमटालाई पराजित गर्दै सभापतिमा निर्वाचित भएकी हुन् । स्ववियु निर्वाचन समितिका अनुसार कुल खसेको ६९ मतमध्ये ३६ मत प्राप्त गरेका थिए ।

उनका प्रतिस्पर्धी नेविसंघका विनोद टमटाले ३२ मत प्राप्त गरेका थिए । लाली क्याम्पसको सचिवमा गठबन्धनका जानकी जोशी, कोषाध्यक्षमा गठबन्धनकै ओमकार पाल विजयी भएका छन् । स्ववियुको सदस्यहरुमा नेत्रविक्रम चन्द निकटका भुवन जोशी र नेविसंघका गीता चन्द निर्वाचित भएका छन् । यस्तै दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्वर ८ मा रहेको शंकरपुर क्याम्पस पस्तीको स्ववियु सभापतिमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका साँझा उम्मेदवार कविता अवस्थी प्यानलसहित विजयी भएकी छन् ।

उनले नेपाल विद्यार्थी संघका एकेन्द्र सिंह धामीलाई १५ मतले पराजित गर्दै विजयी भएकि हुन् । अवस्थीले ५७ मत ल्याइन् भने धामीले ४२ मत ल्याइएका थिए । सो क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी संयुक्त रुपमा चुनाव लडेका थिए । नेपाल विद्यार्थी संघ एक्लै चुनाव लडेको थियो । यस्तै लटिनाथ क्याम्पस रस्कोट मार्मामा अनेरास्ववियु र अखिल क्रान्तिकारि उमेदवार जगदिश सिह कोट्टारीको टिम विजय भएको छ ।
यस्तै दार्चुला महाकाली नगरपालिकास्थित राष्ट्रिय क्याम्पस दत्तुको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ । एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानललाई पराजित गर्दै नेविसंघ विजयी भएको हो । सभापतिमा नेविसंघका सरोज ग्वाइला विजयी भएका छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको दत्तु क्याम्पसमा अनेरास्ववियुकी संयुक्त उम्मेदवार मनिषा धामीलाई ८ मतले पछि पार्दै सभापतिमा नेविसंघको ग्वाइला प्यानल सहित निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । जिल्लाको गोकुलेश्वर बहुमुखी क्याम्पसमा स्ववियू सर्वसम्मत गरिएको छ । उक्त क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियु क्रान्तिकारीका नविन विष्ट, सचिवमा अनेरास्ववियुका ज्ञानेन्द्र गोयला, कोषाध्यक्षमा नेविसंघका जगदीश विष्ट चयन भएका छन् । दार्चुलामा सुदूरपश्चिम विश्वविद्यालयका २ आंगिक क्याम्पस रहेका छन् भने त्रिभुवन विश्वविद्यालयका ५ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् ।
सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको दार्चुला बहुमुखी क्याम्पसमा भने यहि चैत्र ८ गते (स्ववियु) निर्वाचन हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय