धनगढी । कञ्चनपुरको पूर्व–दक्षिण क्षेत्रमा पर्ने मोहना–लालझाडी करिडोरमा दुई डमरुसहित पाटे बाघ देखिन थालेपछि सो क्षेत्रमा मानवीय क्षति रोक्न वन कर्मचारी सक्रिय भएका छन् ।
एक सातायता कञ्चनपुरको पुनर्वास नगरपालिका–११ र धनगढी उपमहानगरपालिका–३ मा पर्ने करिडोर क्षेत्रमा स्थानीयवासीले डमरुसहित पाटे बाघ देखेपछि डिभिजन वन कार्यालय कञ्चनपुरले मानवीय क्षति हुन नदिन सक्रियता बढाएको हो । मोहना–लालझाडी करिडोर भारतको दूधुवा नेशनल पार्क र कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसितसमेत जोडिएको छ ।

दुई दिनअघि पुनर्वास नगरपालिका–१० का ३२ वर्षीया कलसा सार्कीको दूधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट निधन भएपछि सो क्षेत्रमा भारतीय वन तथा सुरक्षाकर्मीले पनि सक्रियता बढाएका छन् ।
