दार्चुला । शिक्षक सेवा आयोगबाट प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि छनोट भएका ९६ जनालाई एक कार्यक्रमका बिच आज स्थायी नियुक्ती प्रदान गरिएको छ । शिक्षा विकास तथा समन्वय ईकाई दार्चुलाका प्रमुख जयराज पन्तका अनुसार शिक्षक सेवा आयोगबाट छनोट भई आएका उनिहरुलाई स्थायी नियुक्ती प्रदान गरी जिल्लाका नौ वटै स्थानिय तहमा पठाइएको छ ।
अब उनिहरुले प्राथमिक तहमा अध्यापन गराउने छन् । जिल्लामा प्राथमिक तह तृतिय श्रेणीका १३२ सिट खाली रहेको भए पनि जिल्लाका लागि आयोगबाट ९६ जना मात्रै छनौट भएको उहाले बताउनुभयो । आयोगले २०७७÷०७८को विज्ञापन अनुसार २०७८ चैत्र १० गते र २०७९ असार १३ गते परिक्षा लिएको थियो । शिक्षा विकास तथा समन्वय ईकाइ दार्चुलाले खाली रहेका दरबन्दी र दरबन्दीमा कार्यरत कनिष्टका आधारमा शिक्षक पठाएको छ । ईकाईले जिल्लाको महाकाली नगरपालिकामा १५ जना, शैल्यशिखर नगरपालिकामा १३ जना, मालिकार्जुन गाउँपालिकामा १५ जना, नौगाड गाउँपालिकामा १० जना, मार्मा र अपिहिमाल गाउँपालिकामा समान ८ जना, ब्याँस गाउँपालिकामा ६ जना, दुहुँ गाउँपालिकामा ७ र लेकम गाउँपालिकामा १४ जना नयाँ शिक्षक पठाएको छ ।

उनिहरुलाई कुन विद्यालय पठाउने भन्ने विषयमा सम्बन्धित स्थानिय तहले निर्णय गर्ने शिक्षा विकास तथा समन्वय ईकाइ दार्चुलाका कार्यालय प्रमुख जयराज पन्तले बताउनुभयो । जिल्लामा अब खाली रहेका ३६ सिटहरुका लागि नयाँ विज्ञापन भई सकेको र छिटै आयोगबाट नयाँ शिक्षकहरु आउने बताइएको छ ।
