दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामीले आफ्नो एक वर्ष जति समय केन्द्र र प्रदेश धाउँदा धाउँदै बितेको बताउनुभएको छ । बुधवार जिल्ला सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गर्दै आफ्नो एक वर्षे कार्यकाल विकासका लागि बजेट माग्न केन्द्र र प्रदेश धाउँदा धाउँदै बितेको बताएका हुन् । ‘करिब एक वर्षजति केन्द्र सरकारको सलामी र प्रदेशको गुलामीमा बिताए । उनले भने–कात्तिक महिनादेखि प्रदेश धाए, राष्ट्रिय स्तम्भ उद्घाटनका लागि दुई चोटी त राष्ट्रपति कार्यालय पुगे । यस्तै तिंकर सडकमा बजेट थप र तिंकर नाका सुचारुका लागि निरन्तर हार गुहार गरे ।’
सरकारको व्याँसलाई हेर्ने व्यवहार सौतेनी जस्तो भएको अध्यक्ष धामीको भनाइ छ । अध्यक्ष धामीले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट बिनियोजित व्याँस विशेष कार्यक्रमको ३ करोड बजेटका लागि कात्तिकदेखि धाउँदाधाउँदा अहिलेसम्म पनि काम सुरु हुन नसकेको बताए । उनले भने– ‘कात्तिकदेखि निरन्तर फ्लोअपमा छु, त्यो अर्थले स्वीकृत गर्नुपर्ने तर स्थानीय सरकारलाई अधिकार नहुँदा त्यस्तै थन्किएको छ ।’ गाउँपालिकालाई अधिकार दिनका लागि पत्राचार गरेर आफू प्रदेशको मुख्यमन्त्री कार्यालय, अर्थ मन्त्रालय र सामाजिक विकास मन्त्रालय गएर माग गरिरहेको बताए । त्यो बजेटले यसै महिनादेखि सुरु गरेर असारसम्म काम गरी सक्नुपर्ने बाध्यता छ ।
उनले प्रदेशको नीति तथा कार्यक्रममा व्याँस विशेष कार्यक्रम समावेश गर्नुपर्ने प्रदेशसँग माग रहेको बताए । यस्तै व्याँसको छाङ्गरुमा स्थापना गरिएको राष्ट्रिय स्तम्भको उद्घाटन गर्न बाँकी रहेकाले त्यसको उद्घाटनका लागि राष्ट्रपति, प्रधानमन्त्री र सातवटै प्रदेशका मुख्यमन्त्रीहरुलाई बोलाएर राष्ट्रिय सङघोष गराउने अध्यक्ष धामीले बताए ।
राष्ट्रिय स्तम्भ उद्घाटनका लागि व्याँस गाउँपालिकाले गत वर्ष साउन ९ मा कार्यपालिका बैठकबाटै निर्णय गराएर तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्याँस भ्रमणको निम्तो दिएको थियो । व्याँसका जनप्रतिनिधि दुई चोटी राष्ट्रपति कार्यालय पुगेका थिए । तर समयको अभाव देखाउँदै आउन मानेनन् ।
पत्रकार सम्मेलनमार्फत अध्यक्ष धामीले तिंकर सडकलाई सरकारले प्राथमिकतामा राखेर पर्याप्त बजेट बिनियोजन गर्नुपर्ने बताए । व्याँसको समग्र विकासका लागि तिंकर सडक अतिआवश्यक भएको भन्दै सरकारले यस वर्षको बजेट भाषणमा तिंकर सडकलाई समेट्नुपर्ने जनाए ।
