अंकित कुँवर, दार्चुला । जसमा वनस्पति र जीव दुबै हुन्छ । जो कहिल्यै पनि मर्दैन त्यो यार्सागुम्बा हो । समुद्र सतहबाट करिब ३८ सय मीटरदेखि ४८ सय मिटरसम्मको उचाइमा यो पाइन्छ । हिमाली क्षेत्रमा पाईने (जडिबुडी) यर्सा दार्चुलाको एकमात्र ठाउँमा पाईन्छ त्यो हो ब्याँस लगायत अपि हिमाल । ब्याँसका यार्सा पाईने पाटनहरुमा पछिल्लो समय यार्सा खोज्न जाने मानिसहरुका लागि काल बन्न थालेका छन् ।
जिल्लाको ब्याँस गाउँपालिका भित्रका यार्सागुम्बा पाटनहरुमा १५ दिनमै ३ घटना घटेका छन् । बुधबार दिउँसो १ बजे ब्याँस गाउँपालिकाको यार्सागुम्बा पाइने बन स्याङ्पा पाटनमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुहु गाउँपालिका वडा नम्बर ५ पासुका १४ वार्षिय बालक पारस महरा रहेको मृतकका आफन्त जनक महराले जानकारी दिए । यता जिल्ला प्रहरी कार्यलय दार्चुलाका अनुसार महराको मृत्यु भएको र प्रहरी टोली घटनास्थलमा पठाएको जानकारी दिएको छ ।
मृतक महरा धारीपाटा माध्यामिक बिद्यालय धारीमा कक्षा ८ मा अध्ययनरत छात्र हुन् ।
गत शनिबार राति हुम्दुङतीस्थित पाटनमा यार्चागुम्बा संकलन गरिरहेको अवस्थामा चट्याङ लागेर तीन जना संकलक घाइते भएका थिए ।
चट्याङ लागेर दुहुँ गाउँपालिका– २ हिकिलाका १८ वर्षीय महेश बडाल, सोही गाउँपालिका– १ पिपलचौरी बस्पालीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका थिए ।
घाइते भएका ३ जनाहरुको हेलिकप्टर मार्फत उद्दार गरि अहिले उपचार गरीरहेका छन् । उनिहरुको स्वास्थमा क्रमिक सुधार भईरहेको अस्पताल स्रोतले जनाएको छ ।
बैशाख १९ गते मंगलबार ब्याँस गाउँपालिका १ भोलुममा हिमपहिरो गएको थियो । उक्त हिमपहिरोमा जिल्ललाको दुहुँ गाउँपालिका वडा नम्बर ४ की ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रविण कुँवर र डोटीको जोरायल गाउँपालिकाको बुडर बस्ने ४५ वर्षीय नक्की डोमा थापा, डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया छिमी सामो थापाको मृत्यु भएको थियो ।
सो घटनामा ७ जनाले भागेर ज्यान जोगाएका थिए ।
यार्सा खोजिका लागि ओढ्ने, ओच्छ्याउने अनि खाने रासन सम्पूर्ण बन्दोबस्तीका सामानहरु लिएर जोखिम मोल्दै हिमालतिर उक्लिएका ३ जना घाईते भए । ७ जनाले भागेर ज्यान जोगाए त ६ जनाले ज्यानै गुमाए ।
उच्च गुणस्तरको यार्साको अन्तर्राष्ट्रिय बजार मूल्य नै सुनभन्दा महँगो छ । त्यस कारण मानिसहरु यसलाइ पाउन आफ्नो ज्यानै थाति राखेर जोखिम ठाउँमा गएर पनि संकलन गर्ने गर्छन् ।
यार्सागुम्बा भेटिने मौसममा त समुन्द्री सतहबाट हजारौं मिटर माथिको गाँउहरु नै रित्ता हुने गर्दछन् । विद्यालय बन्द अनि हातपाँउ चल्ने सबैजना यस जैविक सुनको खोजिमा निस्कने गर्दछन् ।
बर्षायाम शुरु हुँदा नहुँदै खासगरी जिल्लाको महाकाली नगरपालिका, मार्मा गाउँपालिका, ब्याँस गाउँपालिका, अपि हिमाल गाउँपालिका लगायत छिमेकी जिल्ला बैतडी र सुदूरपहाडका मानिसहरु पनि यार्सा टिप्न दार्चुलाको ब्याँस जाने गर्दछन् ।
बिशेषत दार्चुलाको केही ठाउँका मानिसहरू १,२ महिनाकै लागि घरमा ताल्चा लगाएरै यार्सागुम्बाको खोजीमा जान्छन् ।
यार्सागुम्बा संकलनका लागि बिद्यालय नै बन्द
दार्चुलाको अपि हिमाल गाउँपालिका भरीका सम्पुर्ण बिद्यालयहरु २० दिनका लागि बन्द गरिएका छन् । पालिकाको निर्णय अनुसार गाउँपालिका भरिका सम्पुर्ण बिद्यालयहरुलाई बिदा दिईएको गाउँपालिका शिक्षा शाखा प्रमुख बिरेन्द्र साउँदले जानकारी दिए । अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका यार्सा सङ्कलन गर्न लेकतिर गएपछि विद्यालय बन्द गरिएका हुन् । यस्तै, बझाङको शैइपाल गाउँपालिकाभित्रका विद्यालय एक महिनासम्मका लागि बन्द भएका छन् । बन्द गरिएका विद्यालयका विद्यार्थी बेँसी झरेपछि असार १ गतेतिर मात्र खुल्ने बताएका छन् ।
यार्सागुम्बा भनेको के हो ?
यार्सागुम्बा भनेको हिमाली भेकमा पाइने ढुसी र झुसिल्किरा एकै ठाउँमा जोडिएर रहेको बस्तु हो । यसमा ढुसी र झुसिल्किरा परस्परमा आश्रति भएका हुन्छन् । यार्सागुम्बाको जीवनचक्रका सम्बन्धमा बनस्पतिविदहरूका अनुसार यो ६ महिना किरा र ६ महिना बनस्पति भएर रहन्छ । त्यसरी हेर्दा बनस्पति जिवित रहे प्राणी मर्ने र प्राणी जिवित रहे बनस्पति मर्ने हुन्छ । जमिनमा रहेका पुराना यार्सागुम्बाबाट हावामा प्रशस्त बीऊहरू फैलिरहन्छन् ।
यार्सागुम्बा कत्तिको महत्वपुर्ण छ ?
नेपालमैं पाइने ३ प्रकारका यार्सागुम्बाहरू पनि सबै प्रयोगयोग्य र बहुमूल्य छैनन् । बनस्पतिविज्ञहरूका अनुसार नेपालमा पाइने यार्सागुम्बाहरूमध्ये कोर्डिसेप्स सिाइनेन्सिस प्रजातिको यार्सागुम्बा मात्र बहुमूल्य र प्रयोगमा आउँछ । यी तीनैवटा यार्सागुम्बाको नाम बानस्पातिक नाम हो । संसारमा पाइने यार्सागुम्बाहरूमा पनि कोर्डिसेप्स सिाइनेन्सिस मात्र औषधिको रुपमा प्रयोग गरिने भएकाले यार्सागुम्बा निकै महत्वपुर्ण मानिन्छ ।
बिज्ञापन

