धनगढी । बैतडीमा टिप्पर दुर्घटना हुँदा सह चालक घाइते भएका छन् । सुर्नया गाउँपालिका वडा नम्बर–६ खर्काधारमा से १ ख १६५८ नम्बरको टिप्पर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोक राज जोशीले जानकारी दिए। टिप्पर दुर्घटनामा परेर सहचालक २४ वर्षीय अशोक बोहरा घाइते भएका हुन् ।
घाइते बोहराको टाउको, ढार र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। घाइते बोहरालाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरी निरीक्षक जोशीले बताए।

बिहीवार साँझ ५ बजे तिर सुर्नया गाउँपालिका अन्तर्गतको मोतीनगर–हेपो सडकखण्डमा माटो अनलोड गर्ने बेला टिप्पर दुर्घटनामा परेको बताइएको छ। टिप्परमा चालक र सहचालक मात्रै सवार रहेको र चालक सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
