दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा किशोरीसंग उपाध्यक्ष कार्यक्रममार्फत १०० जना किशोरीलाई प्रशिक्षणसंगै शैक्षिक सामाग्री वितरण गरिदैछ । अहिलेसम्म वडा नम्बर १, २, ५ र ६ का ६ वटा माध्यमिक विद्यालयका किशोरीलाई प्रशिक्षणसंगै शैक्षिक सामाग्री वितरण कार्य सम्पन्न भएको छ । यसपछि वडा नम्बर ४ र ३ का किशोरीलाई प्रशिक्षणसंगै शैक्षिक सामाग्री वितरण गर्ने तयारी भइरहेको छ ।
विहिबार वडा नम्बर १, ५ र ६ का चार वटा माध्यमिक विद्यालयको संयुक्त कार्यक्रम लटिनाथ नमुना मावि चौपातामा सम्पन्न भएको छ । लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशीको अध्यक्षतामा आयोजित किशोरीसंग उपाध्यक्ष कार्यक्रममा गाउँपालिका अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यता रहेको थियोे । वडा नम्बर १ का वडाअध्यक्ष नवराज पन्त, वडा नम्बर ६ का वडाअध्यक्ष हरिबहादुर साउँद, वडा नम्बर ५ का वडाअध्यक्ष बलदेवसिंह बोहरा, लेकम गाउँपालिकाका निवर्तमान अध्यक्ष एबं मावि चौपाताका विव्यस अध्यक्ष परमानन्द जोशीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रमा मावि मैखोली, सर्मोली, तेलिगाउँ र चौपाताका शिक्षकहरूको आतिथ्यता रहेको थियो ।

चार वटै माध्यमिक विद्यालयबाट १०-१० जना गरि ४० जना किशोरीको सहभागीता रहेको उक्त कार्यक्रममा गोकुलेश्वर वहुमुखी क्याम्पसका शिक्षण सहायक गोकर्ण पाठक र भोजराज पन्तले प्रशिक्षण गर्नुभएको थियो । प्रशिक्षण कार्यक्रममा बालविवाह न्यूनिकरण, विभिन्न विभेद, अधिकार, चुनौती र अवसरका बारेमा जानकारी गराइएको कार्यक्रम सञ्चालन एबं लेकम गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कबिता जोशीले जानकारी दिए । कार्यक्रममा सहभागी सबै किशोरीलाई झोला, डिक्सनरी, सामान्यज्ञान, कापी, छाता, क्यालकुलेटर, कलम, टिफेन बक्स लगायत शैक्षिक सामाग्री वितरण गरिएको नले बताए ।
