दार्चुला–जिल्लाको मालिकार्जुन गाउँपालिका–१ भगवती सजानीमा आयोजना गरिएको पशु स्वास्थ्य शिविर मार्फत ४९७ बाख्राको विभिन्न रोगको उपचार गरिएको छ । गुड नेईवर्स ईन्टरनेश्नलको आर्थिक सहयोग मालिकार्जुन गाउँपालिकाको समन्वय सामुदायिक ग्रामिण विकास समाज नेपाल र भगवती विकास बहुद्देश्यीय सहकारीको सहयोगमा आज आयोजना गरिएको एक दिने पशु स्वास्थ्य शिविरबाट उक्त संख्याका बाख्राहरुको उपचार गरिएको हो ।
बाख्रामा लाग्ने रोगको नियन्त्रण तथा न्युनिकरण गर्न शिविरको आयोजना गरिएको सामुदायिक ग्रामिण विकास समाज नेपालद्धारा संचालित एकिकृत सामुदायिक विकास परियोजनाका सहकारी व्यवसाय विकास अधिकृत मनोरथ जोशीले जानकारी दिनुभयो । शिविर मार्फत १ सय बाख्रालाई बाह्य परजिवी नियन्त्रणको खोप लगाइएको उहाले बताउनुभयो ।
३२ बाख्रालाई हालै पशुहरुमा देखिएको लम्पी स्किन रोग विरुद्धको औषधी दिएको बताइएको छ । शिविरमा ३६५ वटा बाख्रालाई जुकाको औषधी खुवाइएको उहाले जानकारी दिनुभयो । मालिकार्जुन गाउँपालिकाका पशु प्राविधिक कल्यान सिंह धामी वडा नम्बर १ का पशु प्राविधिक पुष्पा भट्ट र एकिकृत सामुदायिक विकास परियोजनाका पशु प्राविधिक सिद्धार्थ सिंह धामीले शिविरमा सेवा दिएको उहाले बताउनुभयो ।
