दार्चुला । अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस दार्चुलामा पनि मनाइएको छ । सोमबार विहान जिल्ला सरदमुकाम खलंगामा प्रभातफेरी कार्यक्रमको आयोजना गदैँ सुरक्षा निकाय लगायत सरोकारवालहरुको उपस्थितिमा नगर परिक्रमा गरी दिवस मनाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।‘जीवन बचाऔँ’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस मनाइएको प्रहरी निरीक्षक एवम सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।
प्रहरी निरीक्षक सिंहका अनुसार जिल्ला सदरमुकाम क्षेत्र लगायत मालिकार्जुन गाउँपालिका वडा नम्बर १ निलपतालेश्वर मावि भर्तोला विद्यालयमा लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस मनाइएको बताए । स्थानीय जनसमुदायलाई लागुऔषधको असर र कारोबारबाट मुक्त गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
दार्चुला जिल्लामा पछिल्लो केही वर्षयता लागू पदार्थ सेवन गर्ने युवाहरुको संख्यामा बृद्धि हुन थालेको प्रहरीले अनुमान गरेको छ । विशेषगरी विद्यालय उमेर समुहका युवाहरु लागू पदार्थ सेवन गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरी कार्यालय दार्चुलामा चालु आर्थिक वर्षको हाल सम्म लागु पदार्थ सेवन गर्ने ५ जनामाथि मुद्धा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
दार्चुला जिल्ला सिधै भारतसंग खुल्ला सिमाना जोडिएको जिल्ला भएका कारणले पनि बढिजसो युवाहरु भारतमा गएर लागु पदार्थ सेवन गरेर नेपाल आउने गरेका कारणले पनि यो संख्यामा बृद्धि भएको प्रहरीको अनुमान छ ।
चुरोट, गाँजा जस्ता लागु औषध किनेर खाने र सुई हान्ने काम पनि जिल्लामा बढेको प्रहरीले जनाएको छ । खलंगामा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा महेन्द्र नमुना माविका विद्यार्थी, जिल्लास्थित विभिन्न कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
