दार्चुला । जिल्लाको मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्षलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । गाउँकी एक महिलालाई जबरजस्तीकरणी गरेको आरोप लागेका वडा अध्यक्ष मदन सिंह धामीलाई अदालतको आदेश अनुसार बुधबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
गाउँमा उनले महिलालाई जबरजस्तीकरणी गरेको कुरा बाहिर आएपछि वडा अध्यक्ष धामी माघ महिना देखी फरार रहेका थिए । फरार रहेका वडा अध्यक्ष धामीलाई गत जेठ २४ गते जिल्ला सदरमुकाम खलंगाबाट प्रहरीले प्रकाउ गरेको थियो । प्रहरीले वडा अध्यक्ष धामीलाई २१ दिन सम्म हिरासतमा राखेर अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो ।
सरकारी वकिलको कार्यालयले प्रहरीले तयार पारेको मिसिलका आधारमा धामी माथी अभियोग लगाई अदालत पेश गरेको बताइएको छ । दार्चुला जिल्ला अदालतले वडा अध्यक्ष धामीलाई तत्काल पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो । वडा अध्यक्ष धामी माथी गाउँकै साला नाता पर्नेको श्रीमतीलाई माघ २० गते राती घरमै गएर जबरजस्तीकरणी गरेको आरोप लागेको थियो । वडा अध्यक्ष धामी गत वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
जबरजस्तीकरणीको आरोप लागरे पुर्पक्षका लागि कारागार चलान भएपछि पनि उनलाई तत्काल निलम्बन गर्नु पर्नेमा मालिकार्जुन गाउपालिकाले अहिले सम्म आलटाल गरिरहेको स्थानिय तथा सरोकारवालाहरुले आरोप लगाएका छन् ।
वडा अध्यक्ष कारागार चलान भएपछि अब पिडित महिलालाई अदालतमा उपस्थित गराई बयान लिइने छ । उनको बयान अनुसार ति वडा अध्यक्षलाई छुटाउने की जेलसजाय गर्ने भन्ने कुराको फैसला हुने छ ।
यो समाचार सँग सम्वन्धित समाचार
मालिकार्जुन–३ का वडा अध्यक्ष धामी महिलालाई जबरजस्तीकरणी गरेर फरार
