दार्चुला । जिल्लामा धान रोप्दै राष्ट्रिय धानदिवस मनाइएको छ। महाकाली नगरपालिका वडा नम्वर ८ असिगाडा गाउँमा किसानको खेतमा गएर कृषि ज्ञानकेन्द्र र महाकाली नगरपालिकाले धान दिवस मनाइएको हो। ‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा आज धानदिवस मनाइने गरिन्छ।
दहीच्यूरा खाँदै धानदिवस मनाइएको हो । वर्षामा हिलाम्मे भएको शरीरमा ऊर्जा दिने भएकाले दहीच्यूरा खाने चलन रहेको छ।
‘जलवायु अनुकुलीत कृषकमैत्री प्रबिधि, धान उत्पादनमा वृद्धि ’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवस मनाइएको कृषि ज्ञानकेन्द्र दार्चुलाका प्रमुख प्रकास कुमार पन्तले जानकारी दिए ।
पन्तका अनुसार दार्चुलामा ४ हजार ४ सय ८० हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ भने जिल्लामा बार्सिक ११ हजार २ सय मेटि्रक टन धान उत्पादन हुने गरेको बताए । धानको बिउँमा उन्नत जात: सुख्खा 3, सुख्खा 6, हर्दिनाथ र स्थानीय धानको जात लगाउने गरेको कार्यालयले जनाएको छ । जिल्ला उत्पादन हुने धानले यहाँका कृषकहरुलाइ ४ हजार ५ सय मेटि्रक टन धान चावल बाहिर बाट आयात गर्नु परेको कार्यालय प्रमुख पन्तले जानकारी दिए । असार १५ गतेसम्म जिल्लामा ७० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको उनले वताए ।
असारको अन्तिम वा साउनको पहिलो सातासम्म सबै ठाउँमा रोपाइँ सकिने कार्यालयले जनाएको छ ।
धानदिवसमा स्थानीय महाकाली नगरपालिकाका जनप्रतिनिधि, कृषि ज्ञानकेन्द्रका कर्मचारी, मनपा कृषि शाखाका प्रतिनिधि र स्थानीय कृषकको सहभागिता रहेको थियो।
वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तरराष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धानदिवस मनाउन शुरु गरिएको थियो।
