दार्चुला । महिलालाई जबरजस्ती करणी गरेको अभियोग लागेका दार्चुलाको मालिकार्जुन गाउँपालिका—३ का वडा अध्यक्ष मदनसिंह धामीले जिल्ला अदालत दार्चुलाबाट सफाइ पाएका छन् ।
२७ असारमा जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले धामीलाई सफाइ दिएको हो । जिल्ला अदालतका श्रेस्तेदार कौशल ज्ञवालीले धामी दोषी ठहर हुने प्रमाण नपुगेकाले सफाइ दिएको बताए ।
‘धामीमाथि जबरजस्ती करणी गरेको अभियोग लगाउने महिलाले अदालतमा आफुमाथि जबरजस्ती करणी नगरेको बयान दिएकी थिएन् ।’
उनले भने,‘ती महिलाले आफुमाथि जबरजस्ती करणी नगरेको बयान दिइन् ।जिल्ला प्रहरी कार्यालयमा आफुले किटानी जाहेरी समेत नदिएको,कस्ले जाहेरी दियो त्यो पनि थाहा छैन् । मदनसिंह धामी नाता पर्ने हुन् । उनले मलाई केही पनि गर्नुभएको छैन् । उहाँ र हामी एकै घरका मान्छे हौं भन्ने बयान अदालतमा दिएकी थिइन् ।’
राजनितिक पुर्वाग्राही ढङगले आफुलाई फसाउन खोजेको वडा अध्यक्ष मदनसिंह धामी बताउँछन् । ‘केही राजनितिक दलका स्थानीय देखि जिल्ला सम्मका नेताहरुले फसाउन खोजेका हुन् ।’
उनले भने,‘केही राजनितिक दलमा आबद्ध केही नेता तथा कार्यकर्ताहरुको स्वार्थका कारण मलाई फसाउन खोजेको हो ।उनीहरुले मलाई फसाउन ठुलै जाल बिछाएका थिए । सत्यको जित नै भयो ।’
धामी गत वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
उनीमाथी गाउँकै साला नाता पर्नेकी श्रीमतीलाई गत माघ २० गते राती घरमै गएर जबरजस्तीकरणी गरेको आरोप लागेको थियो ।
