दार्चुला । जिल्लाको व्याँस गाउँपालिकालाई सदरमुकाम खलंगासम्म जोड्ने एकमात्र सडक दार्चुला–टिंकर सडक बन्द हुँदा किसानले उत्पादन गरेका कृषिजन्य उत्पादन खेतबारीमै कुहिन थालेको छ । वर्षातको समय सुरु भएसंगै दार्चुला–टिंकर सडक खण्डको विभिन्न ठाउँमा पहिरो खस्दा सडक बन्द भएको हो । सडक बन्द भएपछि ढुवानी गर्न नसकिएर व्याँस गाउँपालिकाका विभिन्न वडाहरुका किसानले व्यक्तिगत तथा समूहमार्फत उत्पादन गरेका कृषि उपजहरु खेतबारीमै कुहिन थालेको कृषक अकबर सिह धामीले बताए ।
गाउँपालिकाको कृषि विकास शाखाको आर्थिक तथा प्राविधिक सहयोगमा उत्पादन गरिएका कृषि उत्पादनहरु खेतबारीमा कुहिन थालेपछि किसानहरु चिन्तित भएका छन् । सरकारले उत्पादनमा मात्रै लगानी गरेर नहुने भन्दै उत्पादित कृषि उपजहरुको ढुवानीमा समेत सहयोग गर्नुपर्ने ब्याँसका कृषकहरुले बताएका छन् । जनभावना साना किसान कृषि सहकारी संस्था लिमिटेडले विभिन्न कलस्टरमा उत्पादन गरेको आलु खेतबारीमै कुहिन थालेको व्याँस गाउँपालिका कृषि शाखाका प्रमुख विशेश्वर प्रसाद बडूले बताए ।
गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा किसानहरुले उत्पादन गरेको ६ सय क्वीन्टल आलु खेतबारीमा कुहिन थालेको उनले बताए । ‘बाटोघाटो बन्द छ, ढुवानी गर्न नसकिदा किसानले उत्पादन गरेको कृषि उपज कुहिदा दुःख लाग्यो, कृषि शाखा प्रमुख बडूले भने ।’ १ सय क्विन्टल आलु खेतबाट निकालेको तथा ५ सय क्विन्टल आलु खेतबारीबाट निकाल्न बाँकी रहेको उनले जानकारी दिए ।
‘नेपाल कृषि प्रधान देश हो भन्छन् जहाँ सबैभन्दा बढी बजेट कृषि क्षेत्रमा छुट्याइएको हुन्छ, न सडक छ, न त कोल्ड स्टोर नै, व्याँसका किसानले उत्पादन गरेको कृषि उपज दिनप्रति दिन खेतबारीमै कुहिदै गएको छ, कृषक अकबर सिह धामीले भने ।’ सडक बन्द हुँदा किसानले उत्पादन गरेका कृषि उपज ढुवानी गर्न त पाएका छैनन्, कोल्ड स्टोर नहुँदा भण्डारण गर्न पनि पाएका छैनन् ।
सरकारले अन्य बिलासिताका वस्तुहरुमा ठुलो रकम खर्च गर्नु भन्दा कृषकका उत्पादन भण्डारण गर्न कोल्ड स्टोर जस्ता संरचनाहरुमा लगानी गर्न सके किसानलाई राहत हुने कृषक अगुवाहरु बताउँछन् । कृषि उत्पादनको बजारीकरणमा कृषि ज्ञान केन्द्र दार्चुलाले सहयोग गर्ने भने पनि सडक अवरुद्ध हुँदा कृषि उपज व्याँसमै कुहिन थालेको छ ।
