दार्चला । ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट दार्चुलाका किसानहरुका गोठहरु रितिन थालेका छन । जिल्लाका नौ वटै स्थानिय तहमा हालसम्म १ हजार १ सय ६९ पशुचौपाया मरेको भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञकेन्द्र दार्चुलाले जनाएको छ ।
३३ हजार ३ सय ३० पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको तथा १ सय ४३ बाछाबाछी, ३ सय ७८ गाई, ६ सय २२ गोरु र २६ भैंसी मरेको भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञकेन्द्र दार्चुलाका कार्यालय प्रमुख राम बहादुर खडकाले जानकारी दिए । त्यस्तै ४ हजार ९ सय ५१ बाछाबाछी ,१४ हजार २ सय ९५ गाई, १३ हजार ७ सय ५ गोरु र ३ सय उनान्सत्तरी भैंसी संक्रमित भएका छन।
लम्पी स्किनबाट बिशेष गरि गोरु साना बाच्छाबाच्छी, गाई, र भैँसीमा बढी देखापरेको कार्यालयले जनाएको छ। लम्पी स्किनबाट धमाधम पशुचौपाया मर्न थालेपछि गोठनै रित्तिनेपो होकि भन्ने डरले दार्चुलाका किसान चिन्तित बनेका छन्। ‘रोग निकै फैलिएको छ, पशु चौपायाले समयमै उपचार पाएको छैन गाउँमा अहिले सम्म कुनै पनि पशु प्राविधिक आएका छैनन किसानहरुले गुनासो गरेका छन ।
भेटेरेनरी अस्पताल दार्चुलाका पशु बिकास अधिकृत डिगम्बर जोशीका अनुसार झिँगा, भुसुना, लामखुट्टे विभिन्न कीराको टोकाइबाट फैलिने यस रोगको सङ्क्रमणले पशुमा ज्वोरो आउने, फोका निस्कने, गाँठागुठी आउने, पशु बस्तुलाई कमजोर बनाउने लक्षण रहेका छन। यो रोगको खोप नै छैन जथाभावी खोप लगाउदा झन संक्रमित हुने सम्भावना रहेकोले सङ्क्रमण फैलिन नदिन गोठ वरिपरी सफा गर्ने, जैविक सुरक्षामा ध्यान दिने, संक्रमित पशुलाई अन्य पशुसँग नराख्ने, चरनमा नलैजानु पर्ने यी सुरक्षा अपनायो भने केही नियन्त्रण हुन सक्ने भेटेरेनरी अस्पताल दार्चुलाका पशु बिकास अधिकृत डिगम्बर जोशीले बताए।
