धनगढी । हिजो शनिबारको दिन साँझ पुनर्वास नगरपालिका–१० दोदा पुलबाट एक सशस्त्र प्रहरीका जवान समातिएका थिए । नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) ले उनीसहित २ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–३ का २८ वर्षीय प्रदिप पाख्रीन र सोही ठाउँका ३२ वर्षीय विकल मगर रहेका थिए। प्रदिप दार्चुलाको दत्तुस्थित सशस्त्रको बिओपीमा कार्यरत सशस्त्र प्रहरी जवान रहेको खुलेको थियो। अहिले प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अगाडि बढाएको छ ।
उनीहरु सवार सुपप्र ०२००३ प ६४३१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा १.२ ग्राम लागुऔषध (ब्राउनसुगर) फेला परेको थियो। प्रहरी नै यसरी लागुऔषध मुद्दामा समातिएपछि उनको जागिर जाने भएको छ ।
यता, सशस्त्र प्रहरीको नम्बर ७ वैद्यनाथ बाहिनी (सुदूरपश्चिमको मुख्यालय) का डिआईजी कुमार न्यौपानेले निज जवान बिदामा घर (धनगढी) आएका बेला पक्राउ परेको जानकारी दिए । उनका अनुसार उनी पक्राउ परेलगत्तै स्वतः निलम्बित भैसकेका छन् । तर अदालतले सो मुद्दामा सफाइ दिएको अवस्थामा भने निलम्बन फुकुवा हुनसक्ने उनको भनाइ छ ।
