दार्चुला । जिल्लामा संचालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यालय हट्ने भएको छ । अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई एक पत्र पठाउदै संरचना खारेजी तथा एकमुष्ट विनियोजन भएको रकम बाँडफाट गर्न भनेको छ । संघीय सरकारी निकायहरुको संरचनात्मक सुधार सम्बन्धी मिति २०८० जेठ १२ गतेको प्रतिवेदनमा संघीय सरकारी निकायहरु खरेज गर्ने, गाभिने, पुर्नसंरचना गर्ने र हस्तातन्त्रण गर्ने निकायहरुको नाम समवेश भएको मध्ये आर्थिक वर्ष २०८०÷०८१ को बजेट  वक्तव्यको बुँदा नम्बर ४७ बमोजिम खारेजी गरिने वा एक अर्कामा गाभिने भनिए अनुसार दार्चुलामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाकाे कार्यालय हट्ने भएको हो ।

जिल्ला स्तरीय कार्यालयहरुलाई हटाई सात वटै प्रदेशमा कार्यालयहरु रहने गरी पुर्नसंरचना गर्न अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई पत्र पठाएको थियो । जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाकाे कार्यालयलाई हटाएर सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा कार्यालय स्थापना गरिने बताइएको छ । प्रदेश राजधानीमा कार्यालय स्थापना गरी तोकिएका १५ कृषि उपजमा केन्द्रीत हुने गरी प्रदेश भित्रका स्थानीय तहमा कार्यक्रम संचालन गर्ने  र प्रदेश अन्तर्गतको निकायबाट संचालन गर्ने व्यवस्था मिलाउन परिपत्र भएको छ ।

यस्तै हाल संचालनमा रहेका सीमानाका क्वारेन्टाइन कार्यालयहरु, पशु क्वारेन्टाइन कार्यालयहरु, खाद्य आयात निर्यात तथा गुणस्तर प्रमाणीकरण कार्यालयहरुलाई गाभेर एउटै कार्यालयका तीन शाखाको रुपमा पुनःसंरचना गर्ने, कृषि तथा पशु सम्बन्धी प्रयोगशाला र कृषि तथा पशु फार्म केन्द्रहरु र स्रोत केन्द्रहरुलाई पुनःसंरचना गर्ने, बिउ विजन गुणस्तर नियन्त्रण केन्द्रहरुलाई नेपाल कृषि अनुसन्धान परिषदमा गाभिने भएका छन् ।

यसैगरी कपास विकास समितिलाई खारेज गरी जग्गा संरक्षण र उपयोग तथा किसानसंगको जग्गा स्वामित्व सम्बन्धी विवादका निरुपणका सम्बन्धमा सम्बन्धीत जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति गठन गर्ने, राष्ट्रिय किसान आयोगलाई खारेज गरी कृषक दर्ता सम्बन्धी सबै कार्य मन्त्रालयबाट भइरहेकोले यसले गर्ने कार्यहरु मन्त्रालयबाट नै सम्पादन गर्ने तथा राष्ट्रिय दुग्ध विकास बोर्डलाई खारेज गरी नियामकीय र प्रवद्र्धनात्मक कार्य मन्त्रालय वा विभागबाट गर्ने तथा अध्ययन अनुसन्धान सम्बन्धी कार्यका लागि नियमित संरचना नचाहिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय