दार्चुला । एक वृद्धाको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । मालिकार्जुन गाउँपालिका–७ टोपालीकी ८० वर्षीया भागरथी चन्दको हत्या गरिएको अवस्थामा शव भेटिएको हो । टोपालीस्थित घरमा एक्लै बस्दै आएकी चन्द शनिवारदेखि सम्पर्कविहीन भएपछि आइतवार गाउँहरुले प्रहरीलाई खबर गरेका थिए । सोमवार मात्रै घर भन्दा करिब २ सय मिटर पर खोल्सामा वृद्धा चन्दको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।
वृद्धासँग गरगहना भएको र ती गरगहना लुटपाट गरी उनको घाँटी र छातीमा चक्कु प्रहार गरी हत्या गरिएको खुल्न आएको छ, भने उनका नाती फरार रहेको बुझिएको छ । यसबारे प्रहरीले केहि खुलाएको छैन् । स्थानीयका अनुसार तीन÷चार दिन पहिले नाती दिपक चन्द (महाकाली नगरपालिका–४ बांगाबगरमा नास्ता पसल थापी बसेका) र उनका एक जना साथी (नाम नखुलेका) टोपालीस्थित हजुर आमाको घरमा गएका थिए । त्यसै दिनदेखि चन्द सम्पर्कविहीन भएकी र घरमा ताला लागेको थियो ।
दुई दिनसम्म ताला नखुलेपछि स्थानीयले प्रहरी र वृद्धा चन्दका छोरालाई खबर गरेका थिए । उनका छोरा महेन्द्रनगर बस्दै आएका छन् । आइतवार छोरा पुगेर घरको ताला तोड्दा भित्र रगतका छिटा देखेपछि घर वरिपरी खोजी गरिएको थियो । खोजी गर्दै जाँदा सोमवार बिहान साढे ६ बजेतिरको समयमा घरभन्दा करिब २ सय मिटरको दूरीमा खोल्सामा वृद्धाको शव फालिएको अवस्थामा भेटियो ।
स्थानीयका अनुसार वृद्धाको शरिरमा चक्कुका घाँउ रहेको र नाक, कानमा लगाएका सुनका गरगहना पनि लुटिएको पाइएको छ । प्रहरीले घटनापछि सम्पर्कमा नरहेका तथा शंकास्पद व्यक्तिको खोजी भइरहेको जनाएको छ । यस्तै वृद्धाको शव जिल्ला अस्पताल दार्चुलामा पोष्टमार्टम गरिएको छ भने रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
