दार्चुला । भदौ २० गते भारतीय बाटो हुँदै ब्याँस गाउँपालिका–१ तिंकर जाने क्रममा महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिर, ब्याँस गाउँपालिका अध्यक्ष मंगल सिंह धामी र विद्यार्थी नेता दिपक खाती माथी भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गरेको दुव्र्यवहारको घट्नामा भारतीय पक्षले नेपाली पक्ष संग माफी मागेको छ । आज बेलुकी जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको दुई देशका सरकारी अधिकारी बीचको बैठकमा भारत पिथौरागढ जिल्ला धारचुला तहशिलका एसडिएम दिवेश शासनीले नेपाली पक्ष संग दुव्र्यवहारको घट्नालाई लिएर गल्ती स्वीकार गरी माफी मागेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो ।
‘उक्त दिन अन्जानमा गल्ती भयो अब उप्रान्त यस किसिमका गल्ती दोहोरीने छैनन्, एसएसबीबाट नेपाली नागरिकलाई कुनै खालको दुव्र्यवहार भए तुरुन्त खबर गर्नुहोला एसडिएम शासनीको भनाईलाई उदृत गर्दै प्रमुख जिल्ला अधिकारी जोशीले भन्नुभयो ।’ सदियौ देखी नेपाल र भारतका बीचमा रोटी बेटीको सम्बन्ध रहेको भन्दै विद्यार्थी नेता दिपक खातीले सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट नेपाली नागरिकलाई हुने दुव्र्यवहार रोकिनु पर्ने बताउनुभयो । एकातिर मित्र राष्ट्र भनी राख्ने अर्कोतिर दुव्र्यवहार गरी राख्ने प्रवृति भारतले तत्काल रोक्नु पर्ने उनको भनाई छ ।
एसएसबीले नेपालका जनप्रतिनिधि माथी दुव्र्यवहार गरेको पनि स्वीकार गरेको छ । जनप्रतिनिधिलाई ब्याँस जान नदिने कुनै नियत नभएको तथा भुलबस उक्त घट्ना भएको एसडिएम शासनीले स्वीकार गरेको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो । महाकाली नगर प्रमुख नरसिंह चैसिर र ब्याँस गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले भदौ २४ गते भारतीय एसएसबीले आफुहरु माथी दुर्व्यवहार गर्नुको कारण माग गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाएका थिए । खासगरी भारतको छियालेक देखि गर्ब्याङ हुँदै सीतापुल सम्मको नोटिफाइड एरियाबाट यात्रा गर्न सबैले भारतीय प्रशासनको परमिट (लिखित अनुमति) लिनु पर्दछ ।
भारतीय एसएसबीको दुव्र्यवहार खेपेका महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिरले नेपालको असीगडा तथा भारतको छारछुम स्थित बन्दै गरेको मोटर पुल निर्माणका काम बन्द गर्ने चेतावनी दिएपछि नेपाल र भारतका सरकारी अधिकारीहरु बसेर उक्त समस्या समाधान गरेका हुन् । भारतीय पक्षले माफी मागे संगै पुल निर्माणको काम निरन्तर रुपमा हुने बताइएको छ ।
