दार्चुला । सुदूरपश्चिम प्रदेश सभा सदस्य विक्रम सिंह धामीले इजरायल घटनामा मृत्यु भएका मालिकार्जुन गाउँपालिका–४ हुनैनाथका लोकेन्द्र सिंह धामीको घर पुगेर परिवारसँग भेटघाट गरेका छन् ।
नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका प्रदेश सांसद धामीले आज हुनैनाथ पुगेर मृतक धामीका परिवारसँग भेटघाट गरेका हुन् । गृह जिल्ला दार्चुला रहेका प्रदेश सांसद धामीले परिवारसँग भेटघाट गर्दै समवेदना प्रकट गरेका छन् ।

सांसद धामीले परराष्ट्रमन्त्री एनपी साउँद र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह सँग परिवारको फोनमा कुराकानी पनि गराएका छन् । परराष्ट्रमन्त्री साउँद सँग मृतक धामीका परिवारले शव नेपाल ल्याइदिन आग्रह गरे ।
जवाफमा परराष्ट्रमन्त्री साउँदले जतिसक्दो छिटो नेपाल सरकारले प्रकृया पुर्याएर शव नेपाल ल्याउने प्रतिवद्धता जनाएको प्रदेश सभा सदस्य विक्रम सिंह धामीले बताए । यस्तै परिवार पाल्ने छोराको मृत्यु भएपछि भविष्यको सहारा गुमेको भन्दै प्रदेश सरकारसँग रोजगारीको लागि माग गरेका छन् । लोकेन्द्रको मृत्युभएपछि परिवार विक्षिप्त अवस्थामा छ । मृतक धामीका कलिला साढे तीन वर्षकी छोरी, डेढ वर्षको छोरा छ । यस्तै सोही घटनामा परी मृत्यु भएका लेकम गाउँपालिका–५ का दिपेश राज विष्टको परिवार अहिले कन्चनपुरस्थित घर गएकाले भेटघाट हुन नसकेको प्रदेश सभा सदस्य धामीले बताए ।
इजरायलको घटनामा परी मृत्यु भएका परिवारलाई केन्द्र सरकारले १० लाख, प्रदेश सरकारले २ लाख आर्थिक सहयोग दिने निर्णय गरेको छ । यस्तै मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ ले पनि मृतक परिवारलाई ५० हजार सहयोग गर्ने जनाएको छ । पढ्दै–कमाउँदै कार्यक्रम अन्तर्गत इजरायलमा पुगेका १० नेपाली विद्यार्थीहरुले हमास समूहको आक्रमणमा परी ज्यान गुमाउनु परेको थियो ।
