कैलाली । धनगढी उपमहानगरपालिकाले नदीजन्य पदार्थ (ढुङ्गा, बालुवा, गिट्टी आदी) उत्खन्न तथा ढुवानी गर्दा तोकेको जरिवाना पुर्नविचार गर्नुपर्ने भन्दै ट्याक्टर व्यवसायीहरुले आन्दोलन जारी राखेका छन् ।
उपमहानगरपालिकाले नगर प्रहरीले नियन्त्रणमा लिएका ट्याक्टर व्यवसायीहरुबाट एक जरिवाना लिने गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
उपमहानगरपालिकाले मनलाग्दी जरिवाना तोकेकोले पुर्नविचार नभएसम्म व्यवसायीहरुले आन्दोलनलाई निरन्तरता दिने जनाएका छन् ।
ट्याक्टर व्यवसायीहरुले नदीजन्य पदार्थमा भएको कर वृद्धि पुर्नविचार गर्नुपर्ने, ट्याक्टर व्यवसायीलाई रोयल्टी काटी घर राखेको भोली अथवा केही दिन पछि फाल्ने गरेको गाडिलाई जरीवाना नगर्नुपर्ने, ट्याक्टर व्यवसायीलाई धरापमा पार्ने कार्य रोक्नुपर्ने लगायतका मागसहित आन्दोलन गरिरहेको व्यवसायी रामबहादुर दाहालले बताए ।
उनले भने –‘उपमहानगरपालिकाले ट्याक्टर व्यवसायीलाई अपराधी जस्तै देख्ने गरि जथाभावी जरिवाना तोकेको छ । यसको पुर्नविचार हुनुपर्छ । नभएसम्म हामी आन्दोलन जारी राख्छौं ।’
उपमहानगरपालिकाले राजश्व पनि लग्ने तर, घरबाट अन्यत्र ढुवानी गर्दा ट्याक्टर जफत गर्ने, नदीमा ट्याक्टरमा समस्या आउँदा केही ढिलाई भए जफत गर्ने कार्य रोक्नुपर्ने उनको माग रहेको छ । उनीहरुले भोली (शुक्रबार) देखि धनगढीका कुनै पनि नदीमा ट्याक्टर, टिप्पर, जेसिवी लगायतका सवारी साधन जान नदिने र नदीजन्य पदार्थ उत्खन्नमा रोक लगाउने निर्णय गरेका छन् ।
शूल्क नतिर्ने टिप्परलाई प्रहरीले छोड्यो
धनगढीको खुटिया खोलाबाट नदीजन्य पदार्थ उत्खन्न गरेर ढुवानी गरिरहेका टिप्परले तोकिएको शूल्क नतिरेपछि बुधबार ट्याक्टर व्यवसायीहरुले जिल्ला प्रहरी कार्यालय बुझाएका थिए । तर, प्रहरीले टिप्परलाई नियन्त्रणमा राख्नुको सट्टा छोडेको छ ।
‘शूल्क काट्ने मानिस घाँटमै छन् । तर, टिप्परले शूल्क नकाटेको पाएपछि जाखोरतालबाट हामीले प्रहरीकोमा बुझाएको थिए । जानकारीनै नदिई प्रहरीले छोड्यो’ ट्याक्टर व्यवसायी दिपक ढुङ्गालले भने –‘हामीले शूल्क तिर्दा पनि उपमहानगरपालिकाले ट्याक्टर नियन्त्रणमा लगेर जरिवाना गरायो तर, शूल्क नकाटेका टिप्परलाई कुनै जरिवाना नगरि उपमहानगरले संरक्षण गर्यो ।’
धनगढी उपमहानगरपालिकाले प्रति ट्याक्टर, टिप्परबाट नदीजन्य पदार्थको ढुवानी, उत्खन्न गरेवापत सात सय २० रुपैयाँ लिदै आएको छ । उपमहानगरपालिकाले विहान ६ बजेदेखि साँझको ६ बजेसम्ममात्र टिप्पर तथा ट्याक्टर नदीमा जान पाउने व्यवस्था गरेको छ ।
नगर प्रमुख गोपाल हमालले भने –‘हामीले भएको व्यवस्थालाई कडाइका साथ लागुमात्र गरेको हो । विगतमा हुने कर छली, चोरी निकासी रोक्न जरिवाना तोकेको हो ।’
