दार्चुला । खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरबाट जिल्लाका दुई ठाउँका लागि चामल ढुवानी भएको छ ।
केही समय पहिले जिल्लाको नौगाड गाउँपालिका वडा १ को नागु तथा अपि हिमाल गाउँपालिकाको घुसा खाद्य डिपोका लागि चामल ढुवानी गरिएको शाखा कार्यालय राजापुरका प्रमुख रामसागर मेहताले जानकारी दिए ।
प्रमुख मेहताका अनुसार नौगाड गाउँपालिकाको नागु खाद्य डिपोका लागि मोटा र जिरा मसिनो गरी १ सय क्वीन्टल, अपि हिमाल गाउँपालिकाको घुसा विक्री केन्द्रमा मकवानपुर १ सय क्वीन्टल गरी जम्मा २ सय क्वीन्टल चामल ढुवानी गरिएको हो । जिल्लाको दुवै ठाउँका लागि राजापुरमा ५–५ सय क्वीन्टल चामलको ठेक्का भए पनि चामल अभावका कारण माग गरेजति चामल पठाउन नसकिएको शाखा कार्यालय राजापुरका प्रमुख रामसागर मेहताले बताए ।
जिल्लाको नौगाड गाउँपालिका–१ नागुमा रहेको खाद्य डिपोमा गत फागुनमा चामल सकिएपछि त्यहाका स्थानिय मर्कामा परेका थिए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय दार्चुलाले त्यस ठाउँका जनताको सुविधाका लागि २०७९ असोजमा नागुमा खाद्य डिपोको स्थापना गरेको थियो । त्यसबेला डिपोमा १ हजार क्वीन्टल चामल ढुवानी गरी आपुर्ती गरिएको थियो ।
जिल्लाका अन्य खाद्य डिपोहरुमा चामल मौज्दात नै रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका शाखा प्रमुख जय किसन प्रसाद चौधरीले जानकारी दिए । खाद्य कार्यालय दार्चुला शाखा अन्तर्गत अपीहिमाल गाउपालिकाको खण्डेश्वरी डिपो तथा जिल्लाको ब्यासको माल, राप्ला, सुन्सेरा, कुणि, नागु, पारिबगर, घुसार सितोलामा बिक्री केन्द्र छन् ।
