दार्चुला । नेपाल शिक्षक संघ महाकाली नगरपालिका कार्यसमितिको भेलाले संघमा आबद्ध दुई जना विशिष्ट सदस्यलाई सम्मान गरेको छ ।
विपि चिन्तन प्रतिष्ठानको भवन खलंगामा शनिबार भएको भेलाले संघमा आबद्ध विशिष्ट सदस्य महेन्द्र नमुना माध्यमिक विद्यालय खलंगाका प्रधानाध्यापक रामदत्त जोशी र मालिकार्जुन नमुना माध्यमिक विद्यालय धापका प्रधानाध्यापक सुन्द्र सिंह बुढाथोकीलाई शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरिएको हो ।
भेलाले प्रधानाध्यापक द्धय जोशी र बुढाथोकीलाई दोसल्लाले सम्मान गरेको नेपाल शिक्षक संघ महाकाली नगरपालिका कार्यसमिति अध्यक्ष शिक्षक धनेन्द्र सिंह धामीले जानकारी दिए ।
भेलाले नेपाल शिक्षक संघले एक वर्षको अवधिमा गरेका कार्यहरुको बारेमा समिक्षा गरेको बताइएको छ । संघले शिक्षकका हकहितका विषयमा स्थानिय तथा संघ सरकार संग विभिन्न समयमा मागहरु सम्बोधन गर्न र गराउन गरिएका विविध कार्यक्रमहरुमा जोरदार रुपमा आवाज उठाउदै आएको निष्कर्ष निकालेको छ ।
विद्यालय कर्मचारीको सेवासुविधाका विषयमा पनि स्थानिय सरकार संग माग गर्न नेपाल शिक्षक संघ महाकाली नगरपालिका कार्यसमिति अग्रणी भुमिकामा रहेको बताइएको छ । विभिन्न बाहानामा स्थानिय र संघ सरकारले शिक्षकलाई निरास हुने किसिमका गतिविधि गरेपनि शिक्षक आफ्नो पेशा र जिम्मेवारी प्रति सशक्त भएर उभिएको अध्यक्ष धामीले बताए ।
यसैबिच भेलाले नेपाल शिक्षक संघ महाकाली नगरपालिका कार्यसमितिमा एक जना उपाध्यक्ष र एक जना सदस्य मनोनित गरेको छ । भेलाले महाकाली नगरपालिका–१ का शिक्षक अन्जना कुवरलाई संघको उपाध्यक्ष पदमा मनोनित गरेको अध्यक्ष धामीले जानकारी दिए ।
संघका उपाध्यक्ष गंगा खत्री नेपाल शिक्षक संघको जिल्ला सहसचिव पदमा निर्वाचित भएपछि उपाध्यक्ष पद खाली रहेको थियो । यस्तै भेलाले संघको सदस्यमा महाकाली नगरपालिका–६ का नयन सिंह भण्डारीलाई मनोनित गरेको छ । भेला नेपाल शिक्षक संघ महाकाली नगरपालिका कार्यसमितिका अध्यक्ष धनेन्द्र सिंह धामीको अध्यक्षता तथा नेपाल शिक्षक संघ दार्चुलाका पुर्व अध्यक्ष, नेपाली कांग्रेस सुदूरपश्चिम कार्यसमिति सदस्य, करबिर सिंह कार्कीको प्रमुख आतिथ्यततामा भएको थियो ।
भेलामा नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य दौलत खाती र महाकाली नगरपालिका पुर्व मेयर तथा नेपाली कांग्रेस दार्चुलाका कोषाध्यक्ष हंसराज भट्टको विशिष्ट आतिथ्यतता रहेको थियो ।
