दार्चुला–जिल्लाको शैल्यशिखर नगरपालिका–९ मा संचालनमा रहेका मासु पसलहरुको जिल्ला स्तरीय अनुगमन गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाको नेतृत्वमा मासु पसलहरुको अनुगमन गरिएको हो । मासुको स्वच्छता, सरसफाईको अवस्था र दर्ता गरे नगरेको बारेमा मासु पसलहरुको अनुगमन गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका कार्यालय प्रमुख गुमानी दत्त पन्तले जानकारी दिनुभयो । शनिबार (आज) गोकुलेश्वर बजारमा संचालनमा रहेका ३ वटा मासु पसल तथा १ डेरीमा अनुगमन गरिएको उहाँले बताउनुभयो । चाँडपर्व लक्षित बजार अनुगमन गरिएको हो ।
दशै र तिहार जस्ता चाँड पुर्वहरुमा मासुको माग खपत बढी हुने हुँदा मासुमा शुद्धता र सरसफाई कम हुने भन्दै अनुगमन गरिएको बताइएको छ । अनुगमन गरिएका पसलहरुमा सबै कुरा ठिक सहि रहेको पाइएको कार्यालय प्रमुख पन्तले जानकारी दिनुभयो । गोकुलेश्वरमा ब्रोइलरको मासु प्रति किलोग्राम ३५० मात्रै भएपनि खासै खपत नहुने गरेको मासु व्यवसायीहरुले बताएका छन् । डेरी पसलको अवस्था पनि ठिकै रहेको बताइएको छ । जिल्ला स्तरीय अनुगनमा घरेलु, स्थानीय नगरपालिका, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सोही बजारमा हिजो किराना पसलहरुमा अनुगमन गरिएको थियो ।
