हामी कति विचित्र छौँ। आफ्नो नेता राम्रो छ भन्दै अरूलाई गाली गर्छौँ। नेताको पक्षमा बहस गर्दा मित्रता बिगार्छौँ, सम्बन्ध तोड्छौँ र आफ्नै मान्छेसँग दुस्मनी गर्छौँ। तर केही समयपछि त्यही नेता अर्कै नेतासँग मिलेर एउटै मञ्चमा मुस्कुराइरहेको हुन्छ।
नेता मिल्छन्, स्वार्थ मिल्छ, सत्ता मिल्छ। तर नेताका लागि झगडा गर्ने जनता भने एकअर्कासँग मिल्न सक्दैनन्।
नेताले राजनीति गर्छ, हामी त्यसलाई व्यक्तिगत युद्ध बनाउँछौँ। नेता आज एउटा पक्षमा हुन्छ, भोलि अर्को पक्षमा पुग्न सक्छ। तर हामी भने हिजो नेताका लागि बोलेका शब्द र गरेका गाली बोकेर आज पनि सम्बन्ध बिगारिरहेका हुन्छौँ।
राजनीति विचारको विषय हो, वैरभावको होइन। नेता भगवान् होइनन्, उनीहरू पनि आफ्नै स्वार्थ, कमजोरी र परिस्थितिअनुसार निर्णय गर्ने मानिस हुन्। समर्थन गर्न सकिन्छ, आलोचना गर्न सकिन्छ, तर आफ्नो विवेक नै नेताको जिम्मा लगाउनु बुद्धिमानी हुनसक्दैन ।
देशमा परिवर्तन त्यतिबेला सुरु हुन्छ, जब हामी नेताको पक्षमा नभएर , सत्य र विवेकको पक्षमा उभिन सिक्छौँ।
आज हामीले सोच्नुपर्ने कुरा यति मात्र हो। मेरो नेता राम्रो छ भनेर अरूलाई गाली गर्नुअघि मेरो सोच सही छ कि छैन भनेर आफैँलाई प्रश्न गरौँ।
किनकि नेता बदलिन सक्छन्, सत्ता बदलिन सक्छ, गठबन्धन बदलिन सक्छ, तर नेताका लागि बिगारेको सम्बन्ध फेरि सजिलै फर्किँदैन।
समस्या नेता मात्र होइनन्। समस्या हाम्रो अन्धसमर्थन, हाम्रो राजनीतिक अहंकार र नेताका लागि आफ्नै मान्छेसँग दुश्मनी गर्ने प्रवृत्ति पनि हो।
नेतालाई नेता नै बनाऔँ, भगवान् होइन। राजनीतिलाई राजनीति नै बनाऔँ, व्यक्तिगत शत्रुता होइन। अनि आफ्नो विवेकलाई सबैभन्दा माथि राखौँ।
