बैतडी । कञ्चनपुर र कैलालीका पालिकाहरूसँग रेलमार्गबारे छलफल गरिएको छ । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको रेल विभागबाट खटिएको अध्ययन टोलीले कञ्चनपुर र कैलालीका पालिकाहरूसँग रेलमार्गबारे छलफल गरेको हो । टोलीले मेची–महाकाली रेलमार्ग आयोजना अन्तर्गत कैलालीको सुख्खडदेखि कञ्चनपुरको गड्डाचौकीसम्म ९० किलोमिटर लामो रेलमार्ग निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनका सिलसिलामा दुवै जिल्लाका सम्बन्धित पालिकाहरूसँग छलफल गरेको छ ।

कैलालीका घोडाघोडी नगरपालिका, गौरीगङ्गा नगरपालिका, धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका तथा कञ्चनपुरका कृष्णपुर नगरपालिका, लालझाडी गाउँपालिका, शुक्लाफाँटा, वेदकोट र भीमदत्त नगरपालिकाको भूभागमा रेलमार्गका लागि वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन गरिरहेकोले ती पालिकाहरुसँग छलफल गरिएको अध्ययन टोलीका सदस्य एवं वातावरण विद् रिकेश चित्रकारले बताउनुभयो ।

सुख्खडदेखि गड्डाचौकीसम्म जम्मा ११ स्थानमा स्टेशन रहने बताइएको छ । उक्त रेलमार्ग पूर्वपश्चिम राजमार्गको दक्षिण करिब ३ सय मिटरदेखि १ हजार ३ सय मिटरसम्म टाढा रहने बताइएको छ । रेलमार्ग निर्माण सम्बन्धी कञ्चनपुरको लालझाडी गाउँपालिकामा छलफल कार्यक्रमको आयोजना गरिएको थियो । वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन टोलीका सदस्य एवं वातावरण विद् चित्रकारका अनुसार विद्युतीय रेलमार्ग सञ्चालनमा आएपछि प्रतिघण्टा २ सय किलोमिटरको गतिमा रेल चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय