दार्चुला । गत साउन १५ गते महाकाली नदीको मालघाटस्थित तुइनबाट खसेर जयसिंह धामी वेपत्ता भएका थिए । यो घटनामा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको समितिले दोस्रो पटक म्याद थप गरेर अनुसन्धान गरेको थियो । तर दोषी माथि भने केही कार्वाही हुन सकेन ।
यसबीच महाकालीमा धेरै पानी बगिसक्यो तर धामीकी पत्नीको पीडा भने कम भएको छैन् । उनी न्यायको खोजीमा जिल्ला प्रशासन धाइरहेकी छन् ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको लठ्ठा खुस्काएर धामीलाई महाकालीमा खसालेको प्रत्यक्षदर्शीहरुले बयान गरेका थिए । तर, अहिलेसम्म सत्यतथ्य बाहिर नल्याएको भन्दै धामीकी पत्नी राजन्ती धामीले बुधवार पनि जिल्ला प्रशासन कार्यालय दार्चुलामा ज्ञापन बुझाएकी छिन । घटनाको ‘सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारवाहीको दायरामा ल्याउनु पर्ने माग सहित प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ज्ञापन बुझाएकी छिन ।
सरकारले आफ्ना नागरिक तुइनबाट खसेर मृत्यु हुँदा समेत आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै अहिले पनि घटनाको आलोचना भैरहेको छ ।
जयसिंह धामीको परिवार अहिले पनि न्यायको पर्खाइमा रहेको छ । घरमा वृद्ध आमाबुवा, श्रीमती र दुई नाबालग छोराछोरी छन् । दुईसन्तानलाई बुवालाई के भयो भन्नेसमेत पत्तो छैन् । छोरी डेढ वर्षकी मात्र भइन् । ५ वर्षीय छोरालाई भने, आफू विदेश जाने र टन्न मिठाइ र खेल्ने कुरा ल्याइदिने बताएर हिँडेका धामी कहिल्यै नआउने गरी महाकाली नदिमा बेपत्ता भएका थिए । छोराछोरीको लालन पोषण र शिक्षाको व्यवस्था गरिदिने आश्वासन स्थानीय सरकारले गरेको राजन्तीले बताईन । आफुलाई पनि रोजगारी लगाइदिने आश्वासन दिएको र व्यवहारमा लागू नगरेको गुनासो गरिन ।

घटनाको सत्यतथ्य पत्ता लगाएर जसको गल्ती हो उसलाई सजाय दिनु पर्ने परिवारको माग छ । न्यायका लागि कतिन्जेल पर्खनु पर्ने हो बुधवार प्रशासनमा प्रमुख जिल्ला अधिकारी सँग भनिन ।
आफूहरूले आर्थिक क्षतिपूर्ति स्वरूप सुरुवातमा सरकारबाट १० लाख रुपैया पाएको र त्यो रिन तिर्दैमा सक्किएको जानकारी दिईन । स्थानीय सरकारहरुले पनि सहयोगको घोषणा गरेको तर हालसम्म केही नगरेको गुनासो सुनाईन । ‘त्यो भन्दा महत्वपूर्ण न्याय हो,’ उनले भनिन्, ‘मलाई न्याय चाहियो ।’

व्याँस गाउँपालिकाले २५ हजार रुपैया ,नेपाली काँग्रेसका नेता मोहन बस्नेतबाट १ लाख ७१ हजार, अमेरीकामा बसोबास गर्दै आएका नेपालीहरूबाट दुईलाख सहयोग प्राप्त भएको वताईन ।
प्रमुख जिल्ला अधिकारी उपाध्यायले बुधवार पनि उनलाई आश्वासन दिए, ‘स्थानीय सरकारलाई भनेर कतै करारमा राखिदिउँला ।’जयसिंह धामी नेपाली सेनामा भर्ती भएका थिए । सेनाको जागिरबाट आउने तलबले घर चलाउन धौधौ परेपछि उनले विदेश जाने निधो गरेका थिए । दुबई गएमा दुई वर्ष दुई महिना बसेर २०७६ को सुरुतिर नेपाल फर्किएका थिए । केही समय काम गरेका उनी त्यसले घरधन्दा चलाउन पुन धौ धौ भएपछि बिदेश जानका लागि घरबाट हिडेका थिए । विदेश जान भनेर हिँडेका जयसिंह कहाँ पुगे पत्तो छैन । उनी फर्कने, नफर्कने टुंगो नभए पनि न्याय चाहिँ पाउनु पर्ने उनकी पत्नी राजन्तीले वताईन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय