दार्चुला । दार्चुलामा पशुपन्छी तथा माछाको बीमा विस्तार लागि बीमा कम्पनी र सरोकारवालाहरुको समन्वय र सहजिकरण सम्बन्धी गोष्ठी गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाको आयोजनामा बुधवार जिल्ला सदरमुकाम खलंगामा बीमा विस्तारका लागि गोष्ठीको आयोजना गरिएको हो ।

साविकको महाकाली अञ्चलका चार वटा जिल्लालाई समेटेर डडेल्धुरामा बीमा कार्यालय रहने गरी यी जिल्लामा पशुपन्छी र माछाको बीमा विस्तारको काम भइरहेको जनाइएको छ । त्यसअन्तर्गत दार्चुलामा पशुपन्छी तथा माछाको बीमा विस्तारका लागि बीमा कम्पनी र सरोकारवालाहरुसँग समन्वय र सहजीकरण गर्न गोष्ठी आयोजना गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका कार्यालय प्रमुख राम बहादुर खड्काले जानकारी दिए ।

पशुपन्छी तथा माछा बीमाका लागि नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड सँग सहकार्य रहेको छ । पशुपन्छी तथा माछाको क्षति जोखिमको सुरक्षाको लागि बीमा कार्यक्रम अगाडी सारिएको कार्यालयले जनाएको छ । पशु बीमाको विकास क्रम आर्थिक वर्ष २०४०÷४१ देखि सुरु भएको हो ।

यस्तै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गरिबी न्युनिकरण, खाद्य सुरक्षा, पशु कल्याणकारी सेवा, पशु स्वास्थ्य लगायत जनस्वास्थ्यका क्षेत्रमा समेत काम गरिरहेको कार्यालय प्रमुख खड्काले बताए । कृषकले पशुको मृत्यु भएमा बीमांक रकमको ९० प्रतिशतसम्म बीमा दाबीमार्फत रकम पाउनेछ ।

यस्तै पन्छीको हानीनोक्सानी भएमा वास्तविक क्षति बराबरको रकम पाउने जनाइएको छ । यसमा बीमाको अवधी बीमा पोलिसी जारी गरेको मितिले १ वर्षसम्म कायम रहने तथा अर्को वर्षका लागि पुनः बीमा शूल्क तिरी नविकरण गर्नुपर्ने बताइएको छ । कार्यक्रमका सहभागीहरुले बीमा कार्यालय जिल्लामै हुनुपर्ने आवाज उठाएका छन् ।

भेटेरीनरी कार्यालयका प्रमुख राम बहादुर खड्काको अध्यक्षतामा भएको गोष्ठीका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्की रहनु भएको थियो । उक्त कार्यक्रममा स्थानीय तहका प्रमुख एवम प्रतिनीधि, स्थानीय तहका पशु प्राविधिक, बीमा कम्पनीका प्रमुख एवं प्रतिनिधि, जिल्लास्थित पशु पालक कृषकहरु तथा सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय