दार्चुला । सदरमुकाम खलंगा बजार क्षेत्रको खानेपानी समस्या तत्काल समाधान गर्न अनेरास्ववियु दार्चुलाले जिल्ला प्रशासनमा ज्ञापन वुझाएका छन । प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई ज्ञापनपत्र बुझाएर नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु दार्चुलाले खानेपानी समस्या तत्काल समाधान गर्न अनुरोध गरेको छ। खानेपानी उपभोक्ता समिति, नगरपालिका, खानेपानी कार्यालय लगायत सरोकारवालाहरुले खानेपानी समस्या समाधान नगरे थप संघर्षका कार्यक्रम गर्ने अखिलले विज्ञप्तिमा भनेको छ ।
सवैधानिक हक अधिकारलाई स्थानीय तह, सम्वन्धित निकाय र राज्यले समतामुलक रुपमा सम्वोधन गर्नु पर्दछ भन्ने कुरामा अनेरास्ववियु जिल्ला कमिटी दार्चुला प्रतिवद्ध छ । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगार जनाताको नैसर्गीक अधिकार हो । यसले मात्र मानविय जीवन पुर्ण हुदैन र स्वस्थ्य जीवन जीउन शुद्ध खानेपानीको सदासर्वदा आवश्यकता पर्दछ । विगत केही महिना देखि दार्चुला जिल्ला सदरमुकाम खलंगा क्षेत्रको खानेपानी अनियमित हुदाँ स्थानीय, विद्यार्थी, सवै वर्ग मार्कामा परेका छन । वाङ्गाबगर क्षेत्र र बजार क्षेत्रका स्थानीय निकै समस्या भोगीरहेका छन् । जसको प्रत्यक्ष प्रभाव विद्यार्थीमा परेको छ । उपर्युक्त समस्याले विद्यार्थीका पठनपाठनमा समेत अनियमितता देखिएको प्रति अनेरास्ववियु चिन्तीत छ, अनेरास्ववियु दार्चुलाका सचिव नरेन्द्रप्रसाद जोशीद्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा भनिएको छ ।
सदमुकाम जस्तो सम्वेदनशील ठाउँमा महिनौ सम्म खानेपानी अवरुद्ध हुदाँ समेत सरोकारवाला कार्यालय, नगरपालिका तथा प्रशासन लगायत सवै निकाय मौन रहनु बढो दुःखत कुरा भएको उल्लेख गरेको छ । खानेपानी समस्याकै कारण गत माघ १४ गते महाकाली नदीमा नुहाउने क्रममा एक विद्यार्थीको ज्यान समेत गएको थियो । त्यस्ता घटना दोहरीन नदिन सदरमुकाममा खानेपानी तुरुन्त सुचारु गर्न जोडदार माग गरिएको छ । यदि यो विषय जस्ताको त्यस्तै रहने हो भने अनेरास्ववियु जिल्ला कमिटी चुप लागेर नवस्ने र थप सर्घषका कार्यक्रम अगाडी बढाउने समेत ज्ञापनमा भनिएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलामा बुझाइएको ज्ञापन पत्रको बोधार्थ महाकाली नगरपालिका, खलंगा वृहत खानेपानी उपभोक्ता समिति र खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय, दार्चुलालाई समेत दिइएको छ । खलंगा बृहत खानेपानी आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण भइसकेकोले खानेपानी व्यवस्थापनको जिम्मा समितिको रहेको खानेपानी कार्यालयले जनाएको छ ।
